संसद मार्चको दुई दिनअघि सोनम वाङचुकलाई प्रहरीले जबरजस्ती उठायो, २१ दिनदेखि बसिरहेका थिए अनसन

संसद मार्चको दुई दिनअघि सोनम वाङचुकलाई प्रहरीले जबरजस्ती उठायो, २१ दिनदेखि बसिरहेका थिए अनसन

एजेन्सी : दिल्लीको जन्तरमन्तरमा विगत २१ दिनदेखि आमरण अनसनमा रहेका जलवायु तथा सामाजिक अभियन्ता सोनम वाङचुकलाई शनिबार बिहान दिल्ली प्रहरीले प्रदर्शनस्थलबाट उठाएको छ।

स्वास्थ्य अवस्था निकै नाजुक बनेको र उच्च अदालतको आदेश भन्दै प्रहरीले उनलाई जबरजस्ती उठाएको हो। यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर तनाव भएको थियो।

आन्दोलनको नेतृत्व गरिरहेको ‘कक्रोच जनता पार्टी’(सीजेपी)ले प्रहरीले वाङचुकलाई घिसार्दै लगेको र प्रदर्शनकारी विद्यार्थीहरूमाथि लाठीचार्ज गरेको आरोप लगाएको छ।

अनसनको २०औं दिन शुक्रबार राति वाङचुकले सामाजिक सञ्जालमा एउटा भावुक भिडियो सन्देश जारी गरेका थिए।

उनले भनेका थिए, ‘अनसनका कारण मेरो शरीरको करिब २० प्रतिशत हिस्सा सकिइसकेको छ। अब भित्री अङ्गहरूमा असर पर्न सक्छ, तर मेरो दिमागले अझै पनि पूर्ण रूपमा काम गरिरहेको छ।’

उनले भारतमा विगतमा प्याजको मूल्य वृद्धिका कारण सरकारहरू ढलेको स्मरण गराउँदै अहिलेको मुद्दा प्याज नभई लाखौं विद्यार्थीको भविष्य र जीवनसँग जोडिएको बताए।

नीट परीक्षामा भएको अनियमितताका कारण २० भन्दा बढी विद्यार्थीले आत्महत्या गरेको भन्दै उनले शिक्षा मन्त्रीको राजीनामा र जवाफदेहिता माग गरेका छन् ।

प्रहरी र सीजेपीको परस्पर विरोधी दाबी
दिल्ली प्रहरीका डीसीपी सचिन शर्माका अनुसार वाङचुकको बिग्रँदो स्वास्थ्यका कारण उनलाई विशेषज्ञ चिकित्सकको सल्लाह र अदालतको निर्देशन पालना गर्दै सफदरजङ्ग अस्पताल भर्ना गरिएको हो।

प्रहरीले लाठीचार्ज वा कसैलाई हिरासतमा लिएको कुरालाई पूर्णतः अस्वीकार गरेको छ।

यता, सीजेपीका संस्थापक अभिजीत दीपकेले भने प्रहरीले आफूलाई कुटपिट गरेको र हिरासतमा राखेको दाबी गरेका छन्।

वाङचुककी श्रीमती गीताञ्जली जे. आङ्मोले उनलाई कुन अस्पताल लगिएको हो भन्ने सुरुमा जानकारी नदिएको भन्दै चिन्ता व्यक्त गरेकी थिइन्। उनले आफ्नो सहमतिविना वाङचुकलाई कुनै पनि औषधि नचलाउन आग्रह गरेकी छन्।

राजनीतिक प्रतिक्रिया
आम आदमी पार्टीका नेता मनिष सिसोडियाले यस घटनाको कडा निन्दा गरेका छन्।

उनले यसलाई सरकारको कायरताको संज्ञा दिँदै प्रश्न गरेका छन्, ‘के पेपर लीकविरुद्ध आवाज उठाउनेलाई गुन्डाहरू लगाएर कुट्नु नै मोदीजीको समाधान हो?’

वाङचुकले आगामी २० जुलाईमा संसद मार्च गर्ने घोषणा गरेका थिए। त्यसको दुई दिनअघि नै उनलाई प्रहरीले प्रदर्शनस्थलबाट हटाएपछि जन्तरमन्तरमा अहिले सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।

प्रहरीले बाँकी प्रदर्शनकारीलाई पनि तत्काल ठाउँ खाली गर्न अल्टिमेटम दिएको छ।

साउन २, २०८३ शनिबार १०:१४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।