माथिल्लो तामाकोशीको जलाशय आज ‘फ्लसिङ’ जारी, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं : ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले अहिले जलाशयको आकस्मिक ‘फ्लसिङ’ (सफा गर्ने कार्य) गर्दैछ।
बिहान ८ बजे सुरु भएको यो प्रक्रिया बेलुका ७ बजेसम्म जारी रहने केन्द्रले जनाएको छ।
जलाशयको ढोका पटक-पटक खोल्ने र बन्द गर्ने गरिने भएकाले तामाकोशी नदीको जलसतहमा निरन्तर उतारचढाव हुनेछ।
यसबाट पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै केन्द्रले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
जलाशय फ्लसिङ गर्दा बाँधको तल्लो तटीय क्षेत्रअन्तर्गत पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने खिम्ती हुँदै सुनकोशी नदीसँगको दोभानसम्मको क्षेत्रमा यसको असर देखिने भएको छ।
केन्द्रले सम्भावित दुर्घटना टार्न फ्लसिङको अवधिभर नदी आसपासका क्षेत्रमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने वा लुगा धुने, वस्तुभाउ लैजाने वा नदी किनारमा चराउने, गिटी-बालुवा उत्खनन गर्ने र नदीबाट सवारीसाधन वारपार गराउने कार्य नगर्न सर्वसाधारणलाई सूचित गरेको छ।
यस्तै, नदी किनारमा गरिने दाहसंस्कार वा अन्य धार्मिक संस्कारका क्रममा पनि विशेष सावधानी अपनाउन र पानीको सतहलाई निरन्तर नियाल्न आग्रह गरिएको छ। जलसतह अचानक बढ्न सक्ने भएकाले जोखिमपूर्ण गतिविधिबाट टाढा रहन केन्द्रको अनुरोध छ।
साउन २, २०८३ शनिबार ०८:५९:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।