देशभर भारी वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह

देशभर भारी वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विशेष आग्रह गरेको छ।

मनसुनी वायुको प्रभावका कारण आगामी तीन दिनसम्म देशैभर उल्लेख्य वर्षा हुने देखिएको छ।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर र पूर्वतर्फ सरदर स्थानकै आसपास अवस्थित छ। यसका कारण आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ भने एक-दुई स्थानमा 'धेरै भारी' वर्षा हुनसक्ने पूर्वानुमान छ।

यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका सीमित क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

भारी वर्षाका कारण निम्तिन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन सुझाइएको छ।

आज राति पनि देशभर अधिकांश स्थानमा वर्षाको क्रम जारी रहनेछ।

विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ‘धेरै भारी’ देखि ‘अति भारी’ वर्षाको सम्भावना रहेकाले रात्रिको समयमा थप सतर्क रहन विभागले अनुरोध गरेको छ।

हिमाली क्षेत्रमा वर्षासँगै केही स्थानमा हिमपातको समेत सम्भावना छ। विभागले मौसम सम्बन्धी पछिल्लो जानकारीका लागि नियमित रूपमा आधिकारिक बुलेटिनहरू पछ्याउन सर्वसाधारणलाई आग्रह गरेको छ।

साउन २, २०८३ शनिबार ०७:२०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।