गुपचुप क्यान्सरसँग संघर्ष गरिरहेका नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
काठमाडौं : नेपालको लोकतान्त्रिक एवं नागरिक आन्दोलनका अगुवा तथा पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधन भएको छ। ८७ वर्षीय पाण्डेको शुक्रबार साँझ ७:४० बजे काठमाडौंको विशालनगरस्थित आफ्नै निवासमा निधन भएको हो।
क्यान्सर रोगबाट ग्रसित उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि बिहीबार ह्याम्स अस्पताल र त्यसपछि पाटन अस्पताल लगिए पनि उपचार सम्भव नदेखिएपछि उनलाई परिवारले घरमै फर्काएको थियो।
पछिल्लो समयमा सार्वजनिक जीवनमा त्यति सक्रिय नरहेका पाण्डे सामाजिक सञ्जालमा यदाकदा लेखिरहेका हुन्थे। सञ्जालमा उनले आफ्नो स्वास्थ्यका कारण अब त्यति सक्रिय हुन नसक्ने लेखेका थिए।
परिवार निकट जानकारका अनुसार उनमा क्यान्सर देखिए पनि ८७ वर्षको पाको उमेर पुगेका कारण उनले क्यान्सर विरुद्धका रेडियोथेरापी, केमोथेरापी जस्ता जटिल उपचार पद्धति नअपनाउने निर्णय गरेका थिए।
उनी पछिल्लो समय पीडा कम गर्ने औषधिको सहायता र नियमित चिकित्सकीय हेरचाहमा घरमै आराम गरिरहेका थिए।
नेपालको अर्थतन्त्र र लोकतान्त्रिक आन्दोलनमा योगदान
काठमाडौंमा जन्मिएका पाण्डेको नेपालको लोकतान्त्रिक आन्दोलन, अर्थतन्त्र, विकास प्रशासन र सुशासनको क्षेत्रमा अतुलनीय योगदान छ। नेपाल सरकारको प्रशासनिक सेवामा प्रवेश गरेका पाण्डे अर्थ सचिवसम्म भएका थिए।
तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापासँग नीतिगत मतभेदका कारण उनले राजीनामा दिएर राजनीतिमा सक्रिय भएका थिए। २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल भएपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित अन्तरिम सरकारमा उनी २०४७ देखि २०४८ सम्म अर्थमन्त्री भएका थिए।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ सालमा शासन सत्ता हातमा लिएपछि लोकतन्त्रको पुनर्बहालीका लागि नागरिकस्तरबाट सुरु भएको आन्दोलनमा उनले अग्रणी भूमिका निर्वाह गरेका थिए। उनलाई लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनका मुख्य सूत्रधार मानिन्छन्।
पारदर्शिताको वकालत र प्राज्ञिक व्यक्तित्व
सार्वजनिक जीवनमा इमानदारी, पारदर्शिता र जबाफदेहीताका पर्याय मानिने डा. पाण्डे भ्रष्टाचार विरोधी अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल'का अध्यक्ष समेत भइसकेका थिए। उनले यसको अन्तर्राष्ट्रिय बोर्डमा समेत निर्वाचित सदस्यका रूपमा काम गरेका थिए।
उनले त्रिचन्द्र कलेजबाट उच्च शिक्षा, भारतको इलाहवाद विश्वविद्यालयबाट स्नातकोत्तर र अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयबाट सार्वजनिक तथा अन्तर्राष्ट्रिय मामिलामा पिएचडी गरेका थिए।
नेपालको विकास, अर्थ राजनीति र नागरिक चेतनाका विषयमा उनले नेपाली र अंग्रेजी दुवै भाषामा थुप्रै पुस्तकहरू लेखेका छन्। डा. पाण्डेको निधनप्रति देशका राजनीतिक, प्रशासनिक र नागरिक समाजका अगुवाहरूले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गरेका छन्। पाण्डेको पार्थिव शरीरलाई भोलि शनिवार बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी भएको छ।
साउन १, २०८३ शुक्रबार २२:५१:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।