लागुऔषध कारोबारमा संलग्न भारतीय नागरिकसहित नौ जना पक्राउ
काठमाडौं : मुलुकको विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट नियन्त्रित लागुऔषध नाइट्राभेट-५ ट्याब्लेटसहित सोही ठाउँका ३१ वर्षीय दीपक धामीलाई आज इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
टीकापुर नगरपालिका-१ बाट खैरोहेरोइन जस्तो देखिने पदार्थ एक ग्राम ११० मिलीग्रामसहित २९ वर्षीय रविन चौधरी र जानकी गाउँपालिका-८ भोक्सीका १९ वर्षीय आयुष चौधरी पक्राउ परेका छन्।
त्यसैगरी, रुपन्देहीको ओमसतिया गाउँपालिका-४ ठूलो बालापुरबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ९८० मिलीग्रामसहित भारत उत्तर प्रदेश महाराजगन्ज थाना कुल्हुही ग्रामका २६ वर्षीय रामवचन जैसवाललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै धनुषा गणेशमान चारनाथ नगरपालिका-४ वीरेन्द्र बजारबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने पदार्थ करिब १४८ ग्रामसहित सोही नगरपालिका-१ गोलघर बस्ने २४ वर्षीय मोहमद तमिम राइनलाई इलाका प्रहरी कार्यालय भरतपुरबाट खटिएको प्रहरीले लागुऔषधसहित आज दिउँसो पक्राउ गरेको छ।
त्यसैगरी, दार्चुलाको महाकाली नगरपालिका-४ पुलघाटबाट अवैध लागुऔषध चरेसजस्तो देखिने पदार्थ छ ग्रामसहित व्याँस गाउँपालिका-३ सिनाका २३ वर्षीय सुरेशसिंह कुँवरलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ।
सर्लाहीको लालबन्दी नगरपालिका-१ बागवानीबाट नियन्त्रित लागुऔषध नाइट्राजेपाम ५९० ट्याब्लेटसहित रामनगर गाउँपालिका-५ का १६ वर्षीय किशोर समेत दुई जनालाई आज दिउँसो इलाका प्रहरी कार्यालय लालबन्दी समेतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।
त्यसैगरी, झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ तीन ग्राम ११० मिलीग्रामसहित सोही नगरपालिका-६ का ४५ वर्षीय अवित राईलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। यी घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
साउन १, २०८३ शुक्रबार २१:३२:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।