सांसदको तलब र भत्ता बढाउन सरकार सकारात्मक
काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूको तलब बढाउन र फिल्ड भ्रमण भत्तालाई समयानुकूल परिमार्जन गर्न सरकार सकारात्मक रहेको बताएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा शुक्रबार 'नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक'माथिको छलफलमा उनले यस्तो धारणा राखे। कानुनी प्रक्रिया पूरा गरेर त्यस्ता सुविधा समायोजन गर्न सरकार तयार रहेको उनको भनाइ थियो।
बैठकमा सांसद सुशील खड्काले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, "तलब वृद्धि, हरेक सांसदको स्वकीय सचिवदेखि लिएर अन्य सबै कुरामा हामी उदार नै बनी रहेका छौं। जुन फिल्ड भिजिटहरूको हुँदाखेरिको भत्ता जस्ता कुराहरू छन्, त्यसलाई विधि पुर्याएर समयानुकूल बनाउनमा हामी नकारात्मक छैनौं।"
वाग्लेले राष्ट्र बैंकको सञ्चालक समिति सदस्य संख्या र डेपुटी गभर्नर नियुक्तिको विषयमा समितिले नै अन्तिम निर्णय लिनुपर्ने बताए। गभर्नरको अनुभव र प्राप्त सुझावका आधारमा सञ्चालक समितिमा सदस्य संख्या पाँच, सात वा नौ जनामध्ये कति राख्ने भन्ने विषयमा सरकार लचिलो रहेको उनको भनाइ थियो।
विधेयकमा परेका संशोधन प्रस्तावहरूबारे चर्चा गर्दै उनले भने, "डेपुटी गभर्नरको संख्याबारेमा, डेपुटी गभर्नर बाहिरबाट पनि ल्याउने हो कि भन्ने कुराहरूमा केही संशोधनहरू परेका छन्। यसलाई छलफलबाटै टुङ्ग्याऔं। हामीले यसमा धेरै रिजिड हुन चाहेनौं।"
विधेयकमा सैद्धान्तिक वा व्यावहारिक रूपमा ठूलो मतभेद नरहेको भन्दै वाग्लेले सबै विषयलाई विधिसम्मत ढंगले टुङ्ग्याउनुपर्नेमा जोड दिए। प्रतिनिधिसभाले दफावार छलफलका लागि उक्त विधेयक अर्थ समितिमा पठाएको थियो। बैठकमा राष्ट्र बैंकका गभर्नरले समेत ऐन संशोधनका सम्बन्धमा आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए।
साउन १, २०८३ शुक्रबार १७:०६:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।