प्रसूतिमा लापरबाही भएको ठहर, एभरेस्ट अस्पताल र डा. ज्योत्सनाविरुद्ध ३९ लाख क्षतिपूर्ति दिन आदेश
काठमाडौं : प्रसूतिको गराउने क्रममा स्वास्थ्य जटिलता निम्तिएर मृत्यु भएकी सुवास पराजुलीकी श्रीमतीको उपचारमा कमजोरी भएको ठहर गर्दै उपभोक्ता अदालतले एभरेस्ट अस्पताल र उपचारमा संलग्न चिकित्सक डा. ज्योत्सना शर्मालाई क्षतिपूर्ति भराउन आदेश दिएको छ।
अदालतले बिहीबार यो मुद्दाका बादी सुवास पराजुलीको दाबीलाई आंशिक दाबी पुग्ने फैसला गर्दै एभरेस्ट अस्पताललाई ३० लाख र डा. ज्योत्सना शर्मालाई ९ लाख रुपैयाँ गरी जम्मा ३९ लाख क्षतिपूर्ति पीडित परिवारलाई भराउन आदेश दिएको उपभोक्ता अदालतका सूचना अधिकारी होमनाथ कंडेलले जानकारी दिए।
एभरेस्ट अस्पतालमा डा. ज्योत्सना शर्माको कमजोरी तथा लापरबाहीका कारणले श्रीमतीको मृत्यु भएको भन्दै पाँच करोड क्षतिपूर्तिको माग दाबी गर्दै सुवास पराजुलीले उपभोक्ता अदालतमा मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी कंडेलले बताए। मृतकका श्रीमान् पराजुलीले २०८२ जेठ २५ मा क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका थिए।
"उहाँको मागदाबी आंशिक पुग्ने गरेर ३० लाख अस्पतालले र ९ लाख रुपैयाँ डाक्टर स्वयंले क्षतिपूर्ति दिनुपर्ने गरेर हिजो फैसला भयो", उपभोक्ता अदालतका सूचना अधिकारी कंडेलले भने, "उनले उपचारमा कमी कमजोरी भयो भन्ने अवस्था देखियो।"
यो मुद्दा चलेको एक वर्ष पछि बिहीबार उपभोक्ता अदालतका न्यायाधीशहरू डा. दिवाकर भट्ट र गेहेन्द्र राज रेग्मीको यस्तो फैसला गरेको हो।
साउन १, २०८३ शुक्रबार १५:५०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।