कोशीमा जलप्रवाह बढेपछि रातो बत्ती बालियो: सुनसरी प्रशासनद्वारा ब्यारेजको स्थलगत अनुगमन, सुरक्षा निकाय हाई अलर्टमा
धरान : सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि सुनसरी जिल्ला प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ।
जोखिम न्यूनीकरण र पूर्वतयारीका लागि प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरूको टोलीले कोशी ब्यारेजको स्थलगत अनुगमन समेत गरेको छ।
कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड एक लाख ५१ हजार १९५ क्युसेक पुगेकाले उच्च सतर्कताको सङ्केतस्वरूप ब्यारेजमा रातो बत्ती बालिसकिएको छ। नदीको बहाव व्यवस्थापनका लागि ब्यारेजका २० वटा ढोका खोलिएका छन् ।
कोशीमा जलप्रवाह प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक पुगेपछि उच्च सतर्कताको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ।
अनुगमनपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले बाढी, डुबान तथा कटानको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा रहेको बताए। उनले विपद् व्यवस्थापनमा संलग्न सबै निकायको जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरिएको तथा आवश्यक कार्यविधि पनि तयार गरिएको जानकारी दिए।
बर्खायाममा उद्धार, राहत, प्रभावितको सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक परे पुनःस्थापनाका लागि जिल्ला प्रशासन र सुरक्षा निकाय तयारी अवस्थामा रहेको उनले बताए।
प्रमुख जिल्ला अधिकारी घिमिरेले कोशी ब्यारेज पुल तथा कमजोर तटबन्धको मर्मतसम्भार गरिएको जानकारी दिँदै ठूलो बाढीका कारण कुनै स्थानमा कटान वा तटबन्धमा क्षति पुगेमा सम्बन्धित आयोजना, जिल्ला प्रशासन र सुरक्षा निकाय तत्काल परिचालन हुने गरी तयारी अवस्थामा रहेको उनको भनाइ छ।
अनुगमनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेबे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उपअनुसन्धान निर्देशक विमल घिमिरेलगायत सुरक्षा निकायका प्रतिनिधिको सहभागिता थियो।
साउन १, २०८३ शुक्रबार १४:२९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।