तीन महिनामा तीन हजार विपद्का घटना : १६० जनाको मृत्यु, चार हजार परिवार प्रभावित

तीन महिनामा तीन हजार विपद्का घटना : १६० जनाको मृत्यु, चार हजार परिवार प्रभावित

काठमाडौं : नेपालमा पछिल्लो तीन महिनामा प्राकृतिक तथा अन्य विपद्का कारण मानवीय र भौतिक क्षति भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्म देशभर भएका ३ हजार २९६ विपद्का घटनामा परी १६० जनाले ज्यान गुमाएका छन्।

प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सो अवधिमा २ जना बेपत्ता भएका छन् भने ९४५ जना घाइते भएका छन्। विपद्का कारण कुल ४ हजार ३७५ परिवार प्रभावित भएका छन्।

आगलागीका घटना सबैभन्दा धेरै
प्राधिकरणका अनुसार तीन महिनाको अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन्।

देशभर ८९७ स्थानमा आगलागी हुँदा १७ जनाको मृत्यु भयो भने १०९ जना घाइते भए। आगलागीबाट ९९० परिवार प्रत्यक्ष प्रभावित भएका छन्।

मानवीय क्षतिका हिसाबले सर्पदंश र चट्याङ निकै घातक देखिएका छन्।

५१४ सर्पदंशका घटनामा ३८ जनाको मृत्यु भएको छ भने ४७९ जना घाइते भएका छन्। त्यस्तै, २२३ चट्याङका घटनामा २४ जनाको ज्यान गएको छ भने १२० जना घाइते भएका छन्।

४७७ हुरीबतासको घटनामा १३ जनाको मृत्यु र ६८ जना घाइते भएका छन् भने ४३३ पहिरो जाँदा १२ जनाको मृत्यु र १५ जना घाइते भएका छन्।

वन्यजन्तु आक्रमणका १८१ घटनामा १७ जनाको मृत्यु र १०३ जना घाइते हुँदा बाढीका १६१ घटनामा ९ जनाको मृत्यु र २ जना बेपत्ता भएृका छन्।

भारी वर्षाका १५३ घटनामा ४ जनाको मृत्यु  हुँदा लेक लाग्ने ५५ घटनामा २१ जनाको मृत्यु तथा वन डढेलोका १९१ घटनामा १ जनाको मृत्यु भएको छ।

यसबाहेक ढुङ्गा खसेर २ जना र हिउँपहिरोमा परी १ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ।

वर्षायाम सक्रिय रहेकाले बाढी, पहिरो र डुबानको जोखिम अझै बढ्न सक्ने भन्दै प्राधिकरणले उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

साउन १, २०८३ शुक्रबार ०९:२८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।