यात्रा गर्दै हुनुहुन्छ? यी राजमार्ग अवरुद्ध छन् है!
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गहरू प्रभावित भएका छन्।
पहिरो खस्ने, ढुङ्गा झर्ने र सडक हिलाम्मे हुने समस्याले गर्दा धेरै स्थानमा यातायात सेवा अवरुद्ध वा जोखिमपूर्ण बनेको छ।
मकवानपुरको बकैया गाउँपालिका-११ घट्टेपाखामा बुधबार साँझ खसेको पहिरो पन्छाएपछि आज बिहानदेखि कान्ति लोकपथ सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ।
यद्यपि, वर्षायामको जोखिमलाई मध्यनजर गर्दै यो सडकमा बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सवारीसाधन चलाउन निषेध गरिएको छ।
इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग अत्यधिक हिलो भएका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले यो बाटो भएर यात्रा गर्नेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
अर्घाखाँचीको पाणिनि गाउँपालिका-२ स्थित सडकखण्डमा ठूला ढुङ्गा खसेका कारण सालझन्डी-ढोरपाटन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलोमा पहिरो खसेका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ।
अहिले सडक विभाग र अन्य निकायहरूले अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी राखेका छन्।
वर्षा जारी रहेकाले यात्रामा निस्कनुअघि सम्बन्धित जिल्लाको प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोल (१०३) मा सम्पर्क गरी सडकको अवस्था बुझ्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
साउन १, २०८३ शुक्रबार ०७:४७:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।