डोल्पामा ५६ लाख रुपैयाँ अवैध नगदसहित दुई जना पक्राउ
काठमाडौं : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित त्रिपुराकोट बजारबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा त्रिपुरासुन्दरी नगरपालिका–७ छलका ३२ वर्षीय विष्णुलाल रोकाय र ४२ वर्षीय भक्तिचन्द्र रोकाय रहेका छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनीहरूलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो।
दुनैबाट छलतर्फ मोटरसाइकलमा जाँदै गरेका उनीहरूलाई नियमित गस्तीमा खटिएको प्रहरी टोलीले शङ्का लागेर जाँच गरेको थियो।
सोही क्रममा उनीहरूको साथबाट स्रोत नखुलेको ठूलो परिमाणको नगद फेला परेको हो।
बरामद रकम र पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।
साउन १, २०८३ शुक्रबार ०७:४१:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।