सस्तोमा सेयर किन्ने भट्ट र किनाउने विष्णु प्रतिवादी, बेच्ने मालपानी र चुन्नप्रसाद सरकारी साक्षी, सुपारी आयात र राजश्वको कारबाहीमा पौडेलको 'सहुलियत'
काठमाडौँ : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानको आधारमा दीपक भट्ट र एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल सहितमाथि पूरक अभियोग पत्र दर्ता भएको छ। बिहीबार विवादास्पद व्यवसायी भट्ट, पौडेल, सुलभ अग्रवाल र सुभी अग्रवाल, एसेट म्यानेजमेन्ट प्रालि लगायतमाथि विशेष अदालतमा पूरक अभियोग पत्र दायर भएको हो।
उनीहरूमाथि हिमालयन रि–इन्स्योरेन्स, श्रीराम टोबाको उद्योग र विभिन्न सहकारीको आवरणमा अर्बौँ रुपैयाँ अवैध रूपमा ओसारपसार र रूपान्तरण गरेको विभागको पूरक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। सोही आधारमा दीपक भट्टमाथि थप ४७ करोड ७७ लाख, एमाले नेता पौडेललाई २० करोड ९० लाख, सुभी अग्रवाललाई १३ करोड ३३ लाख, हिमालयन एसेट म्यानेजमेन्टलाई २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गरिएको छ।
सुलभ अग्रवालको नाममा रहेको बालुवाटारको घर–जग्गा, रिद्धिसिद्धि सिमेन्टको १ करोड ७० लाख कित्ता शेयर, र भट्टको नाममा रहेका विभिन्न ८ वटा कम्पनीका १ सय ५६ रोपनी जग्गा जफत गर्न समेत माग गरिएको छ।
अनुसन्धान प्रतिवेदनमा यी दुवैले पौडेलकै दबाब र सहजीकरणमा भट्टलाई कम्पनीको शेयर दिएको स्वीकार गरेर अनुसन्धानमा सहयोग गरेको दाबी गरिएको छ। अभियोग पत्रमा पूर्वअर्थमन्त्री पौडेलले पद र प्रभावको दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरणमा मतियारको भूमिका खेलेको आरोप लगाइएको छ। पौडेलले अर्थमन्त्री हुँदा श्रीराम टोबाको उद्योगको २० प्रतिशत सेयर न्यून मूल्यमा भट्टको कम्पनीलाई बेच्न सहजीकरण गरेको दाबी छ।
कम्पनीको प्रतिसेयर किताबी मूल्य ८१६ रुपैयाँ ७१ पैसा रहे पनि प्रतिसेयर १०० रुपैयाँका दरले भट्टको कम्पनीलाई सेयर हस्तान्तरण गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। यसको बदलामा पौडेलले श्रीराम टोबाकोलाई सुपारी आयातमा सहुलियत दिलाएको, राजस्व अनुसन्धान विभागको कारबाहीबाट जोगाएको र हिमालयन रि–इन्स्योरेन्सलाई इजाजत दिलाउन भूमिका खेलेको दाबी छ।
अनुसन्धान प्रतिवेदनमै श्रीराम टोबाको उद्योगका सञ्चालक चुन्नप्रसाद शर्मा र कमलकिशोर मालपानीले पौडेलको सहयोगमा गरेका बदमासीहरू उल्लेख भए पनि उनीहरूलाई भने सरकारी साक्षी बनाइएको छ। मालपानी प्रधानमन्त्री वालेन्द्र शाह चुनावी प्रचारकैक्रममा जोडिएका थिए। शाहले निर्वाचन प्रचारमा प्रयोग भएको गाडी उनीसँग जोडिएको थियो।
श्रीराम टोबाकोले एमआरपी नराखी वस्तु बिक्री गरेको, वस्तुको रिलेबलिङ गरेको, परिमाण, नापतौल र गुणस्तर हेरफेर गरेको भन्दै २०८२ असार ३२ मा श्रीराम टोबाको उद्योग प्रालिलाई ३ लाख रुपैयाँ जरिवाना गरेको थियो। यो बेलामा अर्थमन्त्री पौडेल नै थिए।
श्रीराम टोबाको यस अगाडि सूर्तीजन्य पदार्थमा अनिवार्य हुने अन्त शुल्क स्टिकरट नटासी विक्री गरेर राजश्व छली गरेको घटनामा समेत जोडिएका थिए। त्यसमा खुद्रा विक्रेता दोषी ठहर भएका थिए भने श्रीराम टोबाकोका चुन्नुसहितले सफाई पाएका थिए।
यसैगरि अभियोग पत्रमा भट्टले आफ्नो एकल स्वामित्वको इन्फिनिटी होल्डिङ्स र हिमालयन एसेट म्यानेजमेन्टमार्फत सम्पत्ति शुद्धीकरण गरेको दाबी गरिएको छ। भट्ट विरुद्ध यस अगाडि नै चार वटा अभियोग पत्र दायर भइसकेको छ। भट्टले ललितपुरको लामाटार लगायतका स्थानमा १ सय ५६ रोपनीभन्दा बढी जग्गा कम्पनीका नाममा खरिद गरेर स्रोत लुकाएको अभियोग पत्रमा दाबी गरिएको छ।
सुभी अग्रवालले कसुरबाट प्राप्त १३ करोड ३३ लाख रुपैयाँभन्दा बढी रकम विभिन्न सहकारीमार्फत घुमाएर शुद्धीकरण गरेको आरोप लागेको छ। सुभिले जगदम्बा स्टिलका कामदार उपेश बस्नेतलाई प्रयोग गरी प्रतिभा बहुउद्देश्यीय सहकारी, कमल बहुउद्देश्यीय सहकारी र नेचुरल बचत तथा ऋण सहकारीमार्फत रकम घुमाएको अभियोग पत्रमा उल्लेख छ।
असार ३२, २०८३ बिहीबार २२:५३:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।