मधेश प्रदेशमा कांग्रेस–एमाले–नेकपा गठबन्धन कायम रहने
जनकपुर : नेपाली कांग्रेस र एमालेबीच बढ्दो असमझदारीका कारण अन्य प्रदेशहरूमा राजनीतिक समीकरण फेरबदल भइरहँदा मधेश प्रदेशमा भने वर्तमान सत्ता गठबन्धन यथावत रहने भएको छ।
मधेशमा कांग्रेस, एमाले र नेकपा सम्मिलित संयुक्त सरकारले नै निरन्तरता पाउने निश्चित भएको हो।
बिहीबार जनकपुरमा तीन दलका शीर्ष संसदीय नेताहरूबीच भएको छलफलपछि सत्ता गठबन्धनलाई बलियो बनाएर लैजाने सहमति भएको छ। कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव, र नेकपा संसदीय दलका नेता एवं अर्थमन्त्री युवराज भट्टराईबीचको बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो।
मधेश प्रदेश एमाले संसदीय दलका नेता सरोज कुमार यादवका अनुसार तीनै दलका नेताहरुबीच गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ।
अन्य प्रदेशको समिकरण परिवर्तन भएपनि मधेश प्रदेशमा कुनै फेरबदल नहुने नेता यादवले प्रष्ट पारेका छन्।
असार ३२, २०८३ बिहीबार १६:४३:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।