भैरहवामा माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात जना घाइते
रुपन्देही : सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।
भैरहवाबाट बुटवलतर्फ गइरहेको माइक्रोबस दुर्घटना भएको रुपन्देही प्रहरीले जनाएको छ। दुर्घटनामा माइक्रोबसका सहचालक बुटवल उपमहानगरपालिका–३ का ३० वर्षीय सन्दीप बरालको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए।
दुर्घटनामा सिद्धार्थनगर नगरपालिका–८ का ५० वर्षीया कृष्णकुमारी बेलबासे, सोही स्थानकी ३४ वर्षीया श्रद्धा जोशी, कपिलवस्तुको शिवराज नगरपालिका–२ का १९ वर्षीय प्रकाश गाहा, पाल्पाको रिब्दीकोट गाउँपालिका–६ का ३८ वर्षीय सुनिल थापा, सिद्धार्थनगर नगरपालिका–३ दरखसवाका २६ वर्षीय कुलदीप गुप्ता, रुपन्देहीको मर्चवारी गाउँपालिका–७ वडवलियाका ५५ वर्षीया शाहाबुन निसा तथा नवलपरासीको सुनवल नगरपालिका–६ का ४१ वर्षीया हेमीसरा खाम्चा घाइते भएको उनले बताए।
घाइतेमध्ये कृष्णकुमारी बेलबासेलाई थप उपचारका लागि भैरहवास्थित सिटी अस्पताल र हेमीसरा खाम्चालाई मणिग्रामस्थित क्रिमसन अस्पताल पठाइएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको छ।
दुर्घटनापछि फरार भएका माइक्रोबस चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ गणेशपुरका ४६ वर्षीय छविलाल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। चन्दले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
असार ३२, २०८३ बिहीबार १४:३४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।