सुदूरपश्चिम सरकारको भविष्य नेकपाको हातमा
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेपछि विकसित राजनीतिक घटनाक्रम र नयाँ समीकरणबारे निर्णय लिन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक बस्दैछ। संसदीय दलका नेता खगराज भट्टले बिहीबार बिहान ११ बजेका लागि प्रदेश संसदीय दलको कार्यालयमा बैठक आह्वान गरेका हुन्।
मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार एमालेका चार मन्त्रीलाई बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सत्ता साझेदार एमाले बाहिरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेट पारित गराउन नेकपासँग सहयोग मागेका छन्।
तर, नेकपाले हालको बजेटलाई यथास्थितिमा स्वीकार नगर्ने र आफ्ना सर्तहरू पूरा नभएसम्म सरकारलाई समर्थन नगर्ने भनेको छ। संसदीय दलका नेता भट्टका अनुसार नेकपाले अहिलेको बजेट पुनर्लेखन हुनुपर्ने र प्रदेश सरकारको नेतृत्वमा आफ्नो दाबी रहने बताएका छन्।
कांग्रेस वा एमालेलाई सहयोग गर्नेभन्दा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने रणनीतिमा नेकपा देखिएको छ। यद्यपि कांग्रेस र एमाले दुवैले नेकपासँग सहकार्य गर्न संवाद गरिरहेका छन्। नेकपाको आजको बैठकले कुन पक्षसँग मिलेर अघि बढ्ने भन्नेबारे निर्णय लिन सक्ने बताइएको छ।
कांग्रेस र नेकपा एमालेबीच करिब दुई वर्षअघि सुरु भएको सहकार्यमा आएको दरारका कारण सुदूरपश्चिममा समीकरण फेरबदलको अवस्था सिर्जना भएको छ। केन्द्रबाट नै राजनीतिक समीकरण फेरबदलबारे निर्णय हुँदा सुदूरपश्चिममा मात्र नभई सातै प्रदेशमा त्यसको असर देखिँदै छ। यसअघि नै कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिइसकेका छन् भने अन्य प्रदेशमा पनि गठबन्धन फेरबदलको प्रक्रिया सुरु हुँदैछ।
बजेट पारित गर्ने अन्तिम समयमा राजनीतिक समीकरणमा दरार आएपछि सुदूरपश्चिममा मुख्यमन्त्री शाहका लागि बहुमत जुटाउन नेकपाको समर्थन अनिवार्य भएको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार टिकाइराख्न २७ सांसदको समर्थन आवश्यक पर्छ। यदि नेकपाले सहयोग नगरेको खण्डमा प्रदेश सरकार ढल्ने र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ।
असार ३२, २०८३ बिहीबार १०:३७:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।