चीनमा ‘एआई साथी’प्रति भावनात्मक निर्भरता बढ्न थालेपछि सुरु गरियो नियमन

चीनमा ‘एआई साथी’प्रति भावनात्मक निर्भरता बढ्न थालेपछि सुरु गरियो नियमन

एजेन्सी : चीनले पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई) मा आधारित ‘साथी बोट’ (कम्प्यानियन बोट) प्रति बढ्दो भावनात्मक निर्भरता र यसबाट उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गरी नयाँ नियमन व्यवस्था ल्याएको छ।

एआई प्रविधिको तीव्र विस्तारसँगै प्रयोगकर्ताको मानसिक स्वास्थ्य र व्यक्तिगत गोपनीयतामा चुनौती थपिएपछि चीन सरकारले बुधबार नयाँ नियम जारी गरेको हो।

एआई सेवाले ग्राहक सेवा, मानसिक स्वास्थ्य सहयोग, बालबालिका तथा वृद्ध वृद्धाको हेरचाहलगायत क्षेत्रमा मानवीय व्यक्तित्व र संवादको अनुकरण गर्दै लोकप्रियता हासिल गरेका छन्।

नयाँ नियमअनुसार एआई साथी सेवा प्रदायक कम्पनीले प्रयोगकर्ताको भावनात्मक अवस्था पहिचान गर्ने, सङ्कटपूर्ण अवस्थामा आवश्यक हस्तक्षेप गर्ने, अत्यधिक प्रयोग नियन्त्रण गर्ने तथा प्रयोगकर्तालाई व्यक्तिगत तथ्याङ्कमाथि पूर्ण नियन्त्रण सुनिश्चित गर्नुपर्नेछ। 

साथै, प्रयोगकर्ताको व्यक्तिगत जानकारी दुरुपयोग हुन नदिन आवश्यक सुरक्षा व्यवस्था गर्नुपर्ने प्रावधान राखिएको छ। नियमले एआई साथी सेवालाई पाठ, तस्बिर, अडियो वा भिडियो माध्यमबाट निरन्तर भावनात्मक अन्तरक्रिया प्रदान गर्ने प्रविधिका रूपमा परिभाषित गरेको छ। 

तर ग्राहक सेवा, शिक्षा तथा वैज्ञानिक अनुसन्धान जस्ता उद्देश्यमा प्रयोग हुने एआई अनुप्रयोगलाई यसको दायराभन्दा बाहिर राखिएको छ। विभिन्न क्षेत्रमा एआई प्रविधिको प्रयोग बढेसँगै चीनको एआई बजार पनि तीव्र रूपमा विस्तार भइरहेको छ। 

पछिल्लो अनुसन्धानअनुसार सन् २०२५ मा चीनको एआई बजार एक दशमलव दुई ट्रिलियन युआन (करिब १७७ अर्ब अमेरिकी डलर)भन्दा बढी पुग्ने र सन् २०२८ सम्ममा एक दशमलव आठ ट्रिलियन युआन नाघ्ने अनुमान गरिएको छ।

नयाँ नियमले एआई प्रविधिको विकाससँगै प्रयोगकर्ताको मानसिक स्वास्थ्य, गोपनीयता र सुरक्षालाई प्राथमिकतामा राख्न खोजेको अधिकारीले बताएका छन्।

असार ३२, २०८३ बिहीबार ०७:५३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।