प्रहरी धरपकडमा घाइते जेनजी अभियन्ता माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज, आयोगको रोहबरमा हिरासतमुक्त
काठमाडौं : कीर्तिपुरस्थित सुकुमबासी होल्डिङ सेन्टरमा प्रहरी धरपकडका क्रममा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज भएका छन्। त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका अन्सारी बुधवार डिस्चार्ज भएका हुन्।
अस्पतालबाट डिस्चार्ज भएसँगै राष्ट्रिय मानव अधिकार आयोगको रोहबरमा उनी प्रहरी हिरासतबाट समेत मुक्त भएका छन्। गत शनिवार कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका बेला प्रहरीले बल प्रयोग गर्दै उनलाई नियन्त्रणमा लिएको थियो।
प्रहरी धरपकडका क्रममा घाइते भएका अन्सारीको हिरासतमा रहँदा स्वास्थ्य अवस्था कमजोर भएपछि सोही दिन उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो।
अभियन्ता माजिदमाथि भएको धरपकड र कुटपिटको चौतर्फी विरोध भइरहेको थियो। उनलाई बिना सर्त रिहा गर्न र दोषी प्रहरीमाथि कारबाही गर्न माग गर्दै सडकदेखि सदनसम्म आवाज उठेको थियो। मानव अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज र जेनजी अभियन्ताहरूले लगातार दबाब दिँदै आएका थिए।
असार ३१, २०८३ बुधबार १९:३४:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।