जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार २२ वर्ष कैद सजाय तोकिएका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार २२ वर्ष कैद सजाय तोकिएका कैदी पक्राउ

काठमाडौं : जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध मुद्दामा २२ वर्ष कैद सजाय पाएका ४२ वर्षीय दर्ज बहादुर तामाङलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।

धादिङ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ सुन्ताखान बस्दै आएका तामाङलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो।

तामाङ लागुऔषध मुद्दामा वि.सं. २०७४ असोज २३ गते पक्राउ परेका थिए। सोही वर्षको मंसिर २८ गतेदेखि २२ वर्ष कैद सजाय भुक्तानका लागि उनलाई सुन्धारा कारागारमा राखिएको थियो। तर, गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट भागेका थिए।

कारागारबाट भागेपछि तामाङ काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए। उनी सुन्ताखान क्षेत्रमा लुकेर बसेको विशेष सूचनाका आधारमा प्रहरी ब्यूरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका तामाङलाई बाँकी कैद सजाय भुक्तानका लागि पुनः कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा बुझाइएको प्रहरीले जनाएको छ।

असार ३१, २०८३ बुधबार १७:०८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।