एसियाली संवादमा सहभागी हुन प्रचण्ड श्रीलंका प्रस्थान

एसियाली संवादमा सहभागी हुन प्रचण्ड श्रीलंका प्रस्थान

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंका प्रस्थान गरेका छन्।

कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल पिपुल्स एसेम्बलीको आयोजनामा श्रीलंकाको कोलम्बोमा जुलाई १६ देखि १८ सम्म आयोजना हुने क्षेत्रीय स्थिरता र आर्थिक लचिलोपनसम्बन्धी एसियाली संवादमा सहभागी हुन प्रचण्ड बुधबार श्रीलंका प्रस्थान गरेका हुन्।

यही सम्मेलनमा सहभागी हुन प्रचण्डसँगै नेपाली प्रतिनिधिमण्डलमा नेकपाका नेताहरू बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गंगा दाहाल सहभागी छन्।

तीन दिनसम्म चल्ने यस सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अस्ट्रेलिया, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, दक्षिण कोरिया, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, इरान, लेबनान र इन्डोनेसिया लगायतका एसियाली मुलुकका वामपन्थी तथा प्रगतिशील दलका नेताहरूको उपस्थिति रहनेछ।

सम्मेलनमा जलवायु परिवर्तन, विश्व तथा क्षेत्रीय आर्थिक संकट, सैन्यीकरण र नव–नाजी प्रवृत्तिको विस्तार, एसियाली क्षेत्रमा वैदेशिक हस्तक्षेप, क्षेत्रीय शान्ति तथा स्थायित्व, र समाजवाद निर्माणका लागि एसियाली मुलुकहरूबीचको एकता र सहकार्यका विषयमा विस्तृत छलफल हुने भएको छ।

भ्रमणका क्रममा प्रचण्डले श्रीलंकाका राष्ट्रपति, प्रधानमन्त्री, जनता विमुक्ति पेरामुनाका महासचिव, र कम्युनिस्ट पार्टी अफ श्रीलंकाका महासचिव लगायत एसियाका दर्जनभन्दा बढी नेताहरूसँग द्विपक्षीय वार्ता गर्ने गर्ने कार्यक्रम रहेको छ।

असार ३१, २०८३ बुधबार १५:०७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।