सस्तो लोकप्रियता र स्टन्टले देश बन्दैन, काम गरेर देखाउनुहोस् : सांसद शाही
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सरकार जनसरोकारका मुख्य मुद्दा छोडेर सस्तो लोकप्रियता र प्रचारबाजीमा मात्रै केन्द्रित भएको आरोप लगाएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले सरकारको कार्यशैलीले जनतामा आशा होइन, अविश्वास मात्रै बढाइरहेको टिप्पणी गरे।
सांसद शाहीले प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल-भारत सीमाका विषयमा दिएको अभिव्यक्ति र त्यसमा सरकारको मौनतामाथि प्रश्न उठाए।
‘राष्ट्रिय हित र सार्वभौमिकतासँग जोडिएका विषयमा सरकार मौन बस्नु सान्दर्भिक छैन,’ उनले भने, ‘यसबारे सरकारले संसद्मा स्पष्ट धारणा नराखेसम्म प्रतिपक्षको विरोध जारी रहनेछ।’
मुलुकमा विधिको शासन कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै शाहीले अहिलेको सरकारले संस्थाहरूलाई धराशायी बनाएर व्यक्तिलाई बलियो बनाउन खोजेको आरोप लगाए।
उनले भने, ‘व्यक्ति बलियो बन्ने र राज्य कमजोर हुने अवस्थाले लोकतन्त्रलाई खतरामा पार्छ। राज्यलाई बलियो बनाउन संविधान, कानुन र संस्थाहरूलाई सुदृढ गर्नुपर्छ, तर सरकार ठिक उल्टो बाटोमा हिँडिरहेको छ।’
जनताले सडक, पुल, खानेपानी, स्वास्थ्य र शिक्षा जस्ता भौतिक पूर्वाधारको विकास खोजेको उल्लेख गर्दै उनले सरकार केवल स्टन्टमा रमाएको बताए।
विशेषगरी वर्षातको समयमा सुकुम्बासीहरूले भोग्नुपरेको समस्याप्रति सरकार संवेदनहीन बनेको उनको आरोप थियो।
‘नागरिकलाई सास्ती दिने होइन, उनीहरूको संरक्षण गर्ने राज्यको पहिलो दायित्व हो। तर सरकार नागरिकलाई डराउने र धम्काउने काममा लागेको छ’, शाहीले थपे।
संस्थागत भ्रष्टाचारका घटनाहरूको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न र राज्यको दोहन गरिएको सम्पत्ति ढुकुटीमा फिर्ता ल्याउन जनताले चाहेको उनले बताए।
सरकारले कामभन्दा बढी हल्ला गरेर अपरिपक्वता प्रदर्शन गरेको उनको ठहर छ।
अन्त्यमा, सांसद शाहीले सत्तापक्ष र प्रतिपक्ष दुवैको साझा एजेन्डा विकास र समृद्धि हुनुपर्नेमा जोड दिए।
‘पुरानो राजनीतिक दलहरूले केही गरेनन् भनेर भाषण गर्न सजिलो छ, तर हामी आफैँले के गर्यौँ भन्ने प्रश्नको जवाफ दिने बेला आएको छ’, उनले भने।
उनले सरकारलाई सबै राजनीतिक शक्तिहरूलाई विश्वासमा लिएर जनअपेक्षा अनुसार काम गर्न सुझाव दिए।
असार ३१, २०८३ बुधबार १४:१५:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।