प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन गीता गुरुङको माग, भनिन्- आशा निराशामा बदलिँदैछ

प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन गीता गुरुङको माग, भनिन्- आशा निराशामा बदलिँदैछ

काठमाडौं : नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बन्न आग्रह गर्दै तत्काल सदनमा उपस्थित भएर सांसदका प्रश्नहरूको जवाफ दिन माग गरेकी छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरुङले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्री सदनप्रति जवाफदेही हुनुपर्ने व्यवस्था सम्झाउँदै सभामुखमार्फत रुलिङको माग गरिन्।

सांसद गुरुङले वर्तमान प्रधानमन्त्रीलाई युवा पुस्ताको प्रतिनिधिको रूपमा हेरिएको भए पनि अहिले त्यो विश्वास टुट्दै गएको टिप्पणी गरिन्।

‘देशभरका युवाले तपाईंप्रति ठूलो आशा राखेका थिए, पुरानो राजनीतिक शैलीभन्दा फरक नेतृत्वको अपेक्षा थियो,’ उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भनिन्, ‘तर आज दुःखका साथ भन्नुपर्छ, त्यो आशा बिस्तारै निराशामा बदलिँदैछ। देशमा दिनहुँ घटिरहेका घटनाले युवा नेतृत्वमाथिको भरोसा कमजोर बनाएको छ।’

सरकारले गम्भीर राष्ट्रिय मुद्दाहरूमा जवाफ दिनुको सट्टा सस्तो स्टन्ट र विषयान्तर गरेर नागरिकको आँखा छल्ने प्रयास गरेको आरोप उनले लगाइन्।

मुलुकमा महँगी, आर्थिक शिथिलता र नागरिक असुरक्षा बढिरहेको भन्दै उनले सरकारलाई जनसरोकारका विषयमा गम्भीर हुन आग्रह गरिन्।

सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले पर्याप्त तयारी र मानवीय संवेदनशीलता नअपनाएको गुरुङको दाबी छ।

विस्थापितहरूलाई झन् जोखिमपूर्ण र डुबान हुने क्षेत्रमा स्थानान्तरण गरिएकोमा प्रश्न उठाउँदै उनले सरकारकै कमजोरीका कारण नागरिकले ज्यान गुमाउनुपरेको उल्लेख गरिन्।

सुकुम्बासी बस्ती हटाइएपछि भएका आत्महत्या र मृत्युका घटनालाई उनले ‘राज्यको असफल नीतिको परिणाम’का रूपमा चित्रण गर्दै पीडित परिवारलाई राहत र घटनाको निष्पक्ष छानबिनको माग गरिन्।

मुगु, सर्लाही र काठमाडौंमा भएका आत्मदाहका घटनाहरूको सन्दर्भ जोड्दै सांसद गुरुङले युवाहरूले देशमै भविष्य देख्न नसक्नु राष्ट्रका लागि चिन्ताको विषय भएको बताइन्।

उनले कर्णालीका बासिन्दा, दलित, मधेसी, महिला, जनजाति र सीमान्तकृत समुदायले राज्यबाट असुरक्षा महसुस गरिरहेको बताउँदै अभिव्यक्ति स्वतन्त्रतामाथि बढ्दो दबाबप्रति पनि सरकारको ध्यानाकर्षण गराइन्।

असार ३१, २०८३ बुधबार १३:५६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।