गृहमन्त्रीको निर्देशनको विरोधमा जानकी मन्दिरको विवाह मण्डप र सङ्ग्रहालय बन्द
धनुषा : जनकपुरधामको धार्मिक तथा पर्यटकीय महत्त्व बोकेका ऐतिहासिक विवाहमण्डप र जानकी मन्दिर परिसरमा रहेको सङ्ग्रहालय (म्युजियम) मङ्गलबारदेखि बन्द गरिएको छ।
मधेस प्रदेशका गृहमन्त्री फकीरा महतोले धनुषा जिल्ला प्रशासनसँग परामर्श नगरी दुवै स्थलमा निःशुल्क प्रवेशको व्यवस्था गर्न निर्देशन दिएको भन्दै विरोधस्वरूप विवाह मण्डप तथा सङ्ग्रहालय बन्द गरिएको प्रशासनले जानकारी दिएको छ।
विवाहमण्डप र सङ्ग्रहालय बन्द भएपछि अवलोकनका लागि पुगेका स्वदेशी तथा विदेशी पर्यटक र दर्शनार्थीहरू समस्यामा परेका छन्।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दासका अनुसार विवाहमण्डपको टिकट शुल्कबाटै मन्दिरको व्यवस्थापन र कर्मचारीहरूको सेवा–सुविधा धान्दै आइएको थियो। मन्त्रीले एकतर्फी रूपमा टिकट हटाउने निर्णय लिएपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको उनले बताए।
“आवश्यक छलफल र सहमतिविना गरिएको निर्णय स्वीकार्य छैन । समस्या समाधान नभए थप आन्दोलन हुन्छ,” उनले भने।
यस विषयमा मधेस प्रदेश सरकारको आधिकारिक धारणा भने आइसकेको छैन। विवाहमण्डप तथा सङ्ग्रहालय प्रशासनले वार्ता र सहमतिबाट समस्याको समाधान नखोजिए आन्दोलनका थप कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ।
असार ३१, २०८३ बुधबार १३:४२:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।