चीन उड्यो उपसभामुख नेतृत्वको संसदीय टोली
काठमाडौं : प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल आज चीन उडेको छ।
चीनको न्यिङ्ची शहरमा आयोजना हुने ‘पाँचौं चीन-सिजाङ ट्रान्स-हिमालय फोरम फर इन्टरनेशनल कोअपरेसन’मा सहभागी हुन उक्त टोली त्यसतर्फ लागेको हो।
टोली आज बिहान १०:४५ बजे सिचुवान एयरलाइन्सको उडानमार्फत प्रस्थान गरेको संघीय संसद् सचिवालयले जनाएको छ।
उपसभामुख रुवी कुमारीको नेतृत्वमा रहेको यस टोलीमा संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, उपसचिवद्वय विमला घिमिरे र नागेन्द्र चौधरी तथा कम्प्युटर प्रोग्रामर अनिशा ढकाल रहेकी छन्।
असार ३१ गतेदेखि साउन १ गतेसम्म आयोजना हुने उक्त अन्तर्राष्ट्रिय फोरममा उपसभामुख रुवी कुमारीले प्रतिनिधिमण्डलको तर्फबाट विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा उपसभामुख र चीनको स्वायत्त क्षेत्र सिजाङका चिनियाँ कम्युनिस्ट पार्टी सचिव वाङ जुनझेङ बीच शिष्टाचार भेटघाट तथा अन्य महत्वपूर्ण द्विपक्षीय छलफलहरू हुने तय भएको छ।
भ्रमण कार्यक्रम सम्पन्न गरी प्रतिनिधिमण्डल आगामी साउन ४ गते दिउँसो साढे १२ बजे हिमालय एयरलाइन्सको उडानमार्फत काठमाडौं फर्कने संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
असार ३१, २०८३ बुधबार १२:३०:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।