सिंहदरबार अगाडि अनेरास्ववियुको प्रदर्शन, अध्यक्ष धामीसहित ६ नेता-कार्यकर्ता पक्राउ

सिंहदरबार अगाडि अनेरास्ववियुको प्रदर्शन, अध्यक्ष धामीसहित ६ नेता-कार्यकर्ता पक्राउ

काठमाडौं : सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

'राज्य आतंक' बढेको र 'गरिबको आवाज दबाउन नपाइने' भन्दै प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका ६ नेता तथा कार्यकर्ता पक्राउ गरेका हुन्। 

पक्राउ पर्नेमा अनेरास्ववियुका अध्यक्ष दिपक धामी, निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य बिशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानून राष्ट्रिय कमिटी सचिव सुदीप थापा, सिरिस बुढाथोकी छन्।

अनेरास्ववियुका कार्यकर्ताहरूले सिंहदरबारको मुख्य प्रवेशद्वार दक्षिण गेट अगाडिको व्यस्त सडकमा मोटरसाइकल पार्किङ गरेर विरोध प्रदर्शन सुरु गरेका थिए। प्रदर्शनकारीहरूले हातमा प्लेकार्ड बोकेर सरकारविरोधी नाराबाजी समेत गरेका थिए।

सडकको बीचमै सवारीसाधन रोकेर गरिएको प्रदर्शनका कारण सिंहदरबार वरपरको यातायात केही बेर पूर्ण रूपमा प्रभावित भएको थियो। सडक अवरुद्ध भएलगत्तै प्रहरीले प्रदर्शनकारीहरूलाई हटाएर सडक सुचारु गराएको थियो।

असार ३१, २०८३ बुधबार ११:५३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।