कर्णाली सरकारबाट कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा

कर्णाली सरकारबाट कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा

सुर्खेत : कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी चारैजना मन्त्रीहरूले आज सामूहिक राजीनामा दिएका छन्।

बुधबार बिहान ९ बजे मुख्यमन्त्री यामलाल कँडेललाई भेटेर उनीहरूले आफ्नो राजीनामा बुझाएका हुन्।

राजीनामा दिनेहरूमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी,  जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी रहेका छन्।

मुख्यमन्त्री कँडेलले आज बिहान बोलाएको मन्त्रिपरिषद् बैठकमा सहभागी नभई मन्त्रीहरूले राजीनामा बुझाएका हुन्। उनीहरू ०८१ साउनमा मन्त्री बनेका थिए।

कांग्रेस स्रोतका अनुसार, बजेट ल्याएपछि सरकारको नेतृत्व र संरचनामा हेरफेर गर्ने पूर्वसहमतिअनुसार नै मन्त्रीहरूले राजीनामा दिएका हुन्।

राजीनामा दिए पनि वर्तमान सरकारलाई कांग्रेसको समर्थन भने यथावत रहने एक मन्त्रीले जानकारी दिए। हालसम्म मुख्यमन्त्री कँडेलले उक्त राजीनामा स्वीकृत गरिसकेका छैनन्।

असार ३१, २०८३ बुधबार १०:५६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।