पाँच वर्षदेखि अस्थायी टहरामै हुप्सेकोटका पहिरो पीडित, वर्षासँगै ब्युँतिन्छ पुरानै त्रास
नवलपरासी : विसं २०७८ असार २४ गतेको भीषण पहिरोले बस्ती नै बगाएपछि सुरक्षित स्थानमा सारिएका हुप्सेकोट गाउँपालिका–५ बागखोरका १८ परिवारको अस्थायी शिविरको बसाइ अहिले पाँचौँ वर्षमा प्रवेश गरिसकेको छ। तर, उनीहरूको स्थायी पुनःस्थापनाको मुद्दा भने अझै सरकारी फाइलमै सीमित छ।
पहिरोपछि सुरुमा विद्यालय र सामुदायिक भवनमा आश्रय लिएका विस्थापित अहिले हुप्सेकोट–१ जुकेपानीस्थित सानो चौरमा निर्माण गरिएका अस्थायी टहरामा बसिरहेका छन्। ब्लक र जस्तापाताले बनेका साँघुरा कोठा, सीमित खुला ठाउँ र आधारभूत पूर्वाधारको समेत अभावका बीच उनीहरू कष्टकर जीवन बिताउन बाध्य छन्।
स्थायी बसोबासको आशा गर्दै बितेका पाँच वर्षले अहिले उनीहरूमा निराशा बढाएको छ। दैनिक ज्याला–मजदुरी गरेर जीविकोपार्जन गरिरहेका विस्थापित परिवारका सदस्यहरू वर्षायाम सुरु भएसँगै फेरि पानी र सर्पको त्रासमा रात बिताउन बाध्य छन्।
स्थानीय तिलबहादुर सोमै मगरले अस्थायी शिविरमै वर्षौँ बित्दा स्थायी घर पाउने आशा क्रमशः क्षीण बन्दै गएको बताए।
“केही समयका लागि भनेर राखिएको शिविरमै पाँच वर्ष बित्यो, हरेक वर्ष वर्षा सुरु भएपछि फेरि त्यही त्रास दोहोरिन्छ। बालबालिका, ज्येष्ठ नागरिक र महिलालाई सुरक्षित राख्न निकै कठिन छ। हामीलाई सुरक्षित स्थानमा स्थायी बसोबासको व्यवस्था गरिदिए पुग्थ्यो”, उनले भने।
पहिरोअघि विस्थापित परिवारसँग प्रतिघर एकदेखि तीन बिघासम्म खेतीयोग्य जमिन, घर र पशुपालनको आधार थियो। पहिराले घरमात्र होइन, उनीहरूको जीविकोपार्जनको आधारसमेत बगायो। अहिले अधिकांश परिवार दैनिक मजदुरीकै भरमा जीवन धानिरहेका छन्।
स्थानीय दिलमाया सोमै मगरले पहिरोले गाउँ नै भासिएको दृश्य अझै आँखाबाट नहटेको बताइन्।
“पहिरोपछि यही शिविरमा आएर सुत्केरी भएँ। मेरो बच्चा यहीँ हुर्किएर अहिले पाँच वर्षको भयो”, उनले भनिन्, “तर हाम्रो स्थायी घर बन्ने कुरा अझै अन्योलमै छ। कहिलेसम्म अस्थायी जीवन बिताउने भन्ने चिन्ता छ।”
विस्थापित खेमबहादुर सोमै मगरका अनुसार तीनै तहका सरकारबीच आवश्यक समन्वय हुन नसक्दा आफूहरूले सास्ती भोग्नुपरेको हो। “सरकारले प्रक्रिया अघि बढेको भन्छ, तर हाम्रो जीवन भने यही अस्थायी टहरामै बितिरहेको छ”, उनले भने।
हुप्सेकोट गाउँपालिकाले स्थायी पुनःस्थापनाका लागि आवश्यक सबै प्रक्रिया वर्षौँअघि नै पूरा गरिसकेको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिइन्। तर पुनःस्थापनाका लागि आवश्यक निर्णय गृह मन्त्रालयबाट नआउँदा काम अघि बढ्न नसकेको उनको भनाइ छ।
“पहिरो विस्थापितको स्थायी आवास निर्माणका लागि गाउँपालिकाले आफ्नो तर्फबाट आवश्यक प्रक्रिया पूरा गरिसकेको छ”, अध्यक्ष पाण्डेले भनिन् “तर गृह मन्त्रालयबाट आवश्यक निर्णय हुन नसक्दा पुनःस्थापनाको काम अघि बढ्न सकेको छैन। निर्णयप्राप्त हुनेबित्तिकै निर्माण प्रक्रिया सुरु गर्न गाउँपालिका तयार छ।”
अध्यक्ष पाण्डेका अनुसार हुप्सेकोट गाउँपालिकाका–५ र ६ का अधिकांश पहाडी बस्तीहरू अहिले पनि पहिरो र भूक्षयको उच्च जोखिममा छन्। प्रत्येक वर्ष मनसुन सुरु भएसँगै ती क्षेत्रका सयौँ नागरिक त्रसित अवस्थामा रात बिताउन बाध्य छन्।
असार ३१, २०८३ बुधबार १०:२९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।