भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण : टोपबहादुरलाई ४ वर्ष र बालकृष्ण खाणलाई २ वर्ष कैद

भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण : टोपबहादुरलाई ४ वर्ष र बालकृष्ण खाणलाई २ वर्ष कैद

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका १६ प्रतिवादीहरूलाई कसुरको प्रकृतिको आधारमा जिल्ला अदालत काठमाडौं कैद तथा जरिवाना निर्धारण गरेको छ। ठगी, सरकारी लिखत किर्ते, संगठित अपराध र राज्य विरुद्धको कसुरमा दोषी ठहर उनीहरूलाई कैद तथा जरिवाना निर्धारण भएको हो।

अदालतको फैसलाअनुसार ९ जना प्रतिवादीहरूलाई जनही ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ। यसरी ४ वर्ष कैद पाउनेहरूमा पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्व गृह सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र आङ्टावा शेर्पा रहेका छन्।

यसैगरी, पूर्व गृहमन्त्री बालकृष्ण खाण र भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई जनही २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ। अन्य चार प्रतिवादीहरू नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरन्जन कुमार खरेललाई जनही १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको छ।

सजाय निर्धारण गर्दा ७५ वर्ष उमेर पुगेका इन्द्रजित राईको हकमा भने कानुन बमोजिमको ज्येष्ठ नागरिक छुट सुविधा अनुसार ७५ प्रतिशत कैद छुट पाएका छन्।

४ वर्ष कैद सजाय पाएका उनले तीन वर्ष दुई महिना १० दिन पुर्पक्षमा बसी भुक्तान भइसकेकोले अब भुक्ता गर्न बाकी रहेको नौ महिना २० दिन कैदको हकमा ७५ प्रतिशत छुपाउँदा ७ महिना सात दिन कैद छुट भई दुई महिना १३ दिन मात्र कैद भुक्तान गर्नुपर्ने छ। साथै ४० हजार जरिवाना तिर्न पर्ने फैसला सुनाएको छ।  

त्यसैगरि ठगी उद्योगमा बेचन झालाई एक वर्ष कैद र दश हजार जरिवाना तोकेको छ।

असार ३०, २०८३ मंगलबार २०:२८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।