क्लासरुममा विद्यार्थी कुटिएको घटनाबारे पीडित पक्षसँग शिक्षामन्त्रीको छलफल
काठमाडौं : काठमाडौंको बौद्धस्थित खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट गरेको श्रव्यदृश्य सामग्री सार्वजनिक भएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले गम्भीर चासो देखाउँदै पीडित पक्ष र विद्यालय प्रशासनसँग छलफल गरेको छ।
विद्यालयकी शिक्षिका सोना रानाले कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरेको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त घटनाका सम्बन्धमा शिक्षामन्त्री सस्मित पोखरेलले पीडित विद्यार्थी, विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग मंगलबार मन्त्रालयमा छलफल गरे।
पीडित विद्यार्थीसँग छुट्टैसमेत छलफल गरेका उनले विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गर्दै अध्ययन र खेलकुदका लागि हौसला तथा प्रोत्साहन गरेको बताइएको छ।
पोखरेलले विद्यार्थीलाई कुटपीपिटको घटनामा आवश्यक कानुनी प्रक्रिया अपनाउनुपर्ने भएको खण्डमा सहजीकरण गर्ने विश्वास व्यक्त गरे। साथै, उनले विद्यार्थीलाई मनोवैज्ञानिक असर नगर्ने गरी विद्यालयले घटनामा संलग्न शिक्षिकालाई सचेत गराउन ध्यानाकर्षण गराए।
साथै आगामी दिनमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन शिक्षकहरूलाई आवश्यक तालीमलगायतको व्यवस्था गर्न पनि विद्यालयलाई आग्रह गरे। उक्त घटना एक वर्ष पहिलाको भए पनि यस्ता किसिमका विकृति दोहोरिन नदिन मन्त्रालयले सजकता अपनाउँदै विद्यालय र पीडित पक्षसँग चासो लिएर पहलकदमी लिएको हो।
खावालिङ स्कुलका प्रधानाध्यापक सुनिल रानाका अनुसार शिक्षिका रानालाई गत जेठमा नै विद्यालयबाट निष्कासन गरिएको थियो।
असार ३०, २०८३ मंगलबार २०:०५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।