रातो पासपोर्ट दुरुपयोग मुद्दा : तीन पूर्वसभासद्लाई दोषी ठहर गर्ने जिल्लाको फैसला सदर
काठमाडौं : उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी मुद्दामा तत्कालीन संविधानसभाका तीन सदस्यलाई दोषी ठहर हुने जिल्ला अदालत काठमाडौंको निर्णयलाई सदर गरेको छ।
न्यायाधीशद्वय खड्कबहादुर केसी र गोपालप्रसाद बाँस्तोलाको संयुक्त इजलासले यही असार २३ गते संविधानसभा सदस्यहरु गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादवलाई दोषी ठहर हुने जिल्लाको निर्णय सदर गरेको हो।
उच्च अदालत पाटनका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार संविधानसभाका तीन सदस्यलाई जिल्लाले ठहर गरेको जनही पाँच महिना कैद र ५०० जरिबाना हुने फैसला उच्च अदालतले सदर गरेको हो। जिल्ला अदालत काठमाडौंले उक्त निर्णय २०७१ जेठ २१ गते सुनाएको थियो।
पहिलो संविधानसभा २०६४ का तीन सदस्यहरुले हैसियतले प्राप्त भएको विशिष्ट कूटनीतिक राहदानी आर्थिक लाभका निम्ति बिचौलियालाई बिक्री गरेको प्रहरीको अभियोग थियो।
अदालतले सोही अभियोगमा डिलबहादुर घर्ती, गोपाल बानियाँ, मनोजकुमार कार्की, देवेन्द्र पौडेल र सन्तोषराज उप्रेतीलाई पनि कीर्ते कागज कसुरमा दोषी ठहर गरी जनही एक वर्ष कैद र पाँच लाख ५४ हजार जरिवाना हुने ठहर गरेको छ।
नक्कली राहदानी प्रयोग गरी अस्ट्रेलिया जान खोजेका म्याग्दीका पृथ्वी छन्त्याललाई जिल्ला अदालत काठमाडौंले एक वर्ष कैद र ५०० जरिवानाको सजाय सुनाएको थियो। उच्च अदालतले सोही निर्णय सदर गरेको हो।
असार ३०, २०८३ मंगलबार १९:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।