मिडियाको गेटमा भएको ‘नाकाबन्दी’मा सरकार संलग्न नरहेको मन्त्रीको दाबी
काठमाडौं : सरकारका प्रवक्ता सस्मित पोखरेलले सोमबार विभिन्न सञ्चारमाध्यम भित्र छिर्न अवरोध पुर्याउँदै जानाजान सवारी साधन रोक्ने घटनामा सरकार संलग्न नभएको दाबी गरे।
मन्त्रिपरिषद् सम्बन्धी जानकारी सार्वजनिक गर्नेक्रममा सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले घटनामा सरकार संलग्न भएको भए गृह मन्त्रालयले गाडीहरू नियन्त्रणमै लिने थिएन भन्दै उनले यसबारे प्रहरीले हेरिरहेको दाबी गरे।
सोमबार कान्तिपुर, अनलाइन खबर र हिमालयन टिभीको कार्यालयमा प्रवेश नै गर्न नमिल्ने गरी विभिन्न व्यक्तिले गेटमै गाडी रोकेका थिए।
उनीहरूले जानाजान अवरोध पूर्याउनेगरी गाडी रोकेर गएको सिसिटिभी फुटेजमा देखिएको थियो। तीन गाडीमध्ये कान्तिपुर मिडियाको तीनकुनेमा रहेको कार्यालयको गेटमा अवरोध पुर्याउँदै रोकेको गाडी रास्वपा नेता रवि जैसवालले प्रयोग गरेको खुलेको थियो। जैसवाल वालेन्द्र शाह समूहसँगै रास्वपामा प्रवेश गरेका थिए।
नियोजित रूपमा सञ्चारमाध्यमको गतिविधिमा अवरोध पूर्याउन भएको घटनाबारे सरकार गम्भीर भने देखिएको छैन। ट्राफिक प्रहरीले उनीहरूलाई सामान्य ट्राफिक नियम उलंघन गरेको कसुरमा जरिवानाको चिट काटेर सबै गाडी फिर्ता गरिसकेको छ।
सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार मिडिया हाउसहरूमा भएको घटना सामान्य ट्राफिक नियम उलङ्घनको घटना मात्र नभई गम्भीर रहेको र यसबारे सरकारले छानबिन गर्नुपर्ने माग गरेका थिए। संसदमा रास्वपाकै सांसदहरूले यो घटनाको विरोध गर्दै यसबारे सरकारले गम्भीर छानबिन गर्न माग गरेका थिए।
असार ३०, २०८३ मंगलबार १७:४९:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।