वायुसेवा निगमको महाप्रबन्धकसहित कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
काठमाडौं : मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्ति र मिटरब्याज सम्बन्धी आयोगका प्रतिवेदन कार्यान्वयनसहित विभिन्न पाँच वटा निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले नेपाल वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत जिम्मेवारी दिँदै कार्यकारी अध्यक्षको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा श्रेष्ठलाई उक्त जिम्मेवारी दिने निर्णय भएको हो। बैठकले बीउबिजन (पहिलो संशोधन) नियमावली- २०८३ लाई स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यस्तै, गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालका विपद् खोज तथा उद्धारमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको छ।
पोखरेलको अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने निर्णय गरेको छ।
यस्तै, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरू गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
असार ३०, २०८३ मंगलबार १७:४६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।