सम्पर्कविहीन एक सह-सचिवलाई सेवाबाट हटाउने मन्त्रालयको तयारी

सम्पर्कविहीन एक सह-सचिवलाई सेवाबाट हटाउने मन्त्रालयको तयारी

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक सह-सचिवलाई सेवाबाट हटाउने प्रक्रिया सुरु गरेको छ।

मन्त्रालयले सूचना जारी गरेर लामो समयदेखि कार्यालयमा अनुपस्थित ती सह-सचिवसँग स्पष्टीकरण माग गरेको छ।

लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेपछि स्पष्टीकरण माग गरिएका ती सह-सचिवमाथि कानुनी प्रक्रिया अघि बढाएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उनलाई विभिन्न माध्यमबाट सम्पर्क गर्न प्रयास गर्दा पनि सम्पर्कमा नआएको र कुनै जानकारीसमेत प्राप्त नभएको छैन। उनी २०८२ माघ ११ गतेदेखि कार्यालयमा अनुपस्थित छन्।

मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनलाई सरकारी सेवाबाट हटाउने गरी कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेस गर्न भनिएको छ।

मन्त्रालयले कार्यालयमा अनुपस्थित, विदेशमा बसोबास गरिरहेका र लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारीहरूको अवस्थाबारे अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। 

असार ३०, २०८३ मंगलबार १५:२५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।