सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने माग भइरहँदा संसद्मा पुगेका प्रधानमन्त्री शाह २० मिनेटमै बाहिरिए
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मंगलबार प्रतिनिधि सभाको बैठकमा करिब २० मिनेट बसेर बाहिरिएका छन्।
जेठ १७ गते सीमा विवादका सम्बन्धमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिको विषयलाई लिएर प्रतिपक्षी दलहरूले सदनमा जवाफ मागिरहेका बेला उनीहरू छोटो समयका लागि बैठकमा उपस्थित भएका हुन्।
दिउँसो १ बजेर ३७ मिनेटमा बैठक कक्षमा प्रवेश गरेका प्रधानमन्त्री शाह र सभापति लामिछाने करिब २० मिनेट बसेर बाहिरिए। राप्रपा सांसद खुस्बु ओलीले विशेष समयमा बोलिरहेका बेला उनीहरू सदनमा प्रवेश गरेका थिए। संसद्मा बोलिरहेका सदस्य र सभामुखको आसनको बीचबाट उनीहरू आफ्नो सिटतर्फ गएपछि एमाले सांसद ऐन महरले नियमापत्ति जनाएका थिए।
प्रतिनिधि सभा नियमावलीको नियम २० को खण्ड (छ) मा रहेको सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्थाको उल्लंघन भएको भनेर उनले सभामुखको ध्यानाकर्षण गराएका थिए।
गत जेठ १७ गते नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि विपक्षी दलहरूले त्यसको निरन्तर विरोध गर्दै आएका छन्। सोही विषयमा प्रधानमन्त्री शाहले आफैँ उपस्थित भएर सदनमा जवाफ दिनुपर्ने माग प्रतिपक्षीको छ।
तर, मंगलबारको बैठकमा विपक्षी सांसदहरूले सरकारको आलोचना गरिरहेका बेला प्रधानमन्त्री शाह कुनै प्रतिक्रिया नदिई बाहिरिएका हुन्। यसअघि उक्त विवादबारे परराष्ट्रमन्त्री शिशिर खनालमार्फत स्पष्टीकरण दिइए पनि प्रतिपक्षी दलहरूले त्यसलाई स्वीकार गरेका छैनन्। उनीहरूले प्रधानमन्त्री शाहले नै सदनमा उभिएर माफी माग्नुपर्ने अडान कायम राखेका छन्।
असार ३०, २०८३ मंगलबार १५:०१:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।