शाही कालमा नझुकेको प्रेस दुई-चार गाडी तेर्स्याएर तर्सिन्न : प्रकाशचन्द्र परियार

शाही कालमा नझुकेको प्रेस दुई-चार गाडी तेर्स्याएर तर्सिन्न : प्रकाशचन्द्र परियार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले सञ्चारमाध्यमका कार्यालय अगाडि गाडी पार्किङ गरी आवतजावत ठप्प पारेर त्रसित बनाउन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद परियारले सञ्चार गृहलाई निसाना बनाएर गरिएको भौतिक अवरोध र अराजकताको भर्त्सना गरे।

सांसद परियारले आफू संसदमा केवल एक सांसदका रूपमा मात्र नभई संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रताको पहरेदारका रूपमा उभिएको स्पष्ट पारे। 

"सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्छन्," उनले भने, "सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्नु जस्तै हो।"

विगतको निरंकुश शाही कालमा समाचार कक्षभित्रै सेना पसेर समाचार सेन्सर गर्दा समेत नझुकेको नेपाली पत्रकारिता आज सडकमा दुई–चार वटा गाडी तेर्स्याएर नतर्सिने उनले बताए। 

उनले भने, "त्यतिबेला नझुकेको नेपाली सञ्चार माध्यम आज सडकमा दुई चार वटा गाडी तेर्स्याएर तर्सिन्छ होला र? ओखलीमा टाउको हालेपछि मुसलको के डर भनेझैँ जस्तोसुकै संकटमा पनि निर्भीक भएर उभिएको इतिहास कहाँ भुल्न सकिन्छ र?"

सत्तारुढ दल रास्वपा लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा उभिएको उल्लेख गर्दै उनले भने, "हामी सत्तामा छौँ भन्दैमा कसैका स्वार्थहरू ठोक्किँदैमा प्रेसमाथि हुने कुनै पनि अराजकताको साक्षी बन्न सक्दैनौँ।"

सञ्चार माध्यमभित्र पनि समस्याहरू रहेको स्वीकार गर्दै सांसद परियारले महात्मा गान्धीको भनाइ स्मरण गर्दै भने "जसरी अनियन्त्रित पानीको भेलले गाउँ डुबाउँछ, त्यसरी नै अनियन्त्रित कलमले विनाश गर्छ। त्यसैले प्रेस पनि सच्चिने ठाउँमा सच्चिनुपर्छ र यो जिम्मेवार बन्नुपर्छ।"

सांसद परियारले संसद मार्फत गृह प्रशासन र सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सबै सञ्चार गृह र पत्रकारहरूले भयरहित वातावरणमा काम गर्न पाउने सुरक्षाको तत्काल प्रत्याभूति गर्न माग गरे। उनले 'प्रेस एक्सप्रेस' नभई जिम्मेवार र स्वतन्त्र प्रेस बन्नुपर्ने धारणा समेत राखे।

असार ३०, २०८३ मंगलबार १४:२६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।