प्रधानमन्त्री बालेन सदनमा आएको तरिका नमिलेको भन्दै एमालेको आपत्ति, रुलिङ गर्न माग
काठमाडौं : एमालेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले संसद्को मर्यादा र नियमावली उल्लंघन गरेको भन्दै नियमापत्ति जनाएको छ।
प्रतिनिधिसभाको बैठकमा एमाले सांसद ऐन महरले नियमावलीको नियम २० को खण्ड (छ) को व्यवस्था उल्लंघन भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका हुन्।
सांसद महरले संसद्मा बोलिरहेका सदस्य र सभामुखको आसनको बीचबाट हिँड्नु नियमावली विपरीत भएको जिकिर गरे।
‘प्रतिनिधिसभा नियमावली नियम २० को खण्ड (छ) मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने स्पष्ट व्यवस्था छ,’ महरले बैठकमा भने, ‘तर बिडम्बना, माननीय खुश्बु ओली बोलिरहेका बेला सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षका सभापति रवि लामिछानेले त्यो नियमको उल्लंघन गरेर हिँड्नुभएको छ। म यसमा नियमापत्ति गर्दै सभामुखको ध्यानाकर्षण र रुलिङको माग गर्दछु।’
राप्रपा सांसद खुश्बु ओलीले विशेष समयमा आफ्नो धारणा राखिरहेका बेला प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछाने रोस्टम र सभामुखको बीचको भागबाट हिँडेर आफ्नो सिटतर्फ गएका थिए। संसदीय अभ्यासमा बोलिरहेको सदस्यको ‘लाइन अफ साइट’ काट्नुलाई अमर्यादित मानिन्छ।
असार ३०, २०८३ मंगलबार १४:०७:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।