नयाँ कानुनपछि पनि युट्युब ‘एल्गोरिदम’द्वारा अझै किशोरकिशोरीलाई हानिकारक भिडियो सिफारिस
एजेन्सी : नयाँ अनलाइन सुरक्षा नियमहरू लागू भएको एक वर्ष बितिसक्दा पनि युट्युबले किशोरकिशोरीहरूलाई खानपानसम्बन्धी समस्या बढाउने खालका हानिकारक भिडियोहरू अझै सिफारिस गरिरहेको एक नयाँ अध्ययनले देखाएको छ।
‘सेन्टर फर काउन्टरिङ डिजिटल हेट’ले गरेको पछिल्लो अनुसन्धान अनुसार, युट्युबको ‘अप नेक्स्ट’ एल्गोरिदमले अझै पनि १० मध्ये एउटा भिडियो अत्यधिक कम क्यालोरी खाने सल्लाह दिने वा अत्यधिक दुब्लोपनलाई आदर्श मान्ने खालका सामग्री देखाउने गरेको छ।
सीसीडीएचले १३ वर्षीया किशोरीको नक्कली अकाउन्ट बनाएर गरेको परीक्षणमा यस्तो नतिजा आएको हो।
सन् २०२४ मा गरिएको यस्तै परीक्षणमा हरेक ४ मध्ये एउटा भिडियो हानिकारक भेटिएको थियो, जुन अहिले १० मध्ये एउटामा झरेको छ। सुधार देखिए पनि जोखिम भने अझै उच्च रहेको अनुसन्धानकर्ताहरूको भनाइ छ।
अनुसन्धानका क्रममा दैनिक मात्र १७० क्यालोरी खान सल्लाह दिने र हाडछाला मात्र देखिएको शरीरलाई राम्रो देखाउने ‘थिनस्पो’ एकाउन्टहरू अझै सक्रिय रहेको र युट्युबले ती भिडियोहरू सिफारिस गरिरहेको पाइएको छ।
सन् २०२५ जुलाईदेखि बेलायतमा लागू भएको ‘अनलाइन सेफ्टी एक्ट’ अनुसार युट्युब जस्ता प्लेटफर्मले १८ वर्षमुनिका प्रयोगकर्तालाई आत्महत्या, आत्म-हानि र खानपान विकार बढाउने सामग्रीबाट जोगाउनुपर्ने कानुनी व्यवस्था छ।
कम्पनीहरूले आफ्ना एल्गोरिदमले युवाहरूलाई पुऱ्याउन सक्ने क्षति कम गर्नुपर्नेछ। यदि नियम पालना नगरेमा उनीहरूको कुल विश्वव्यापी आम्दानीको १० प्रतिशतसम्म जरिवाना हुन सक्छ। गुगलको हकमा यो जरिवाना अर्बौँ पाउण्ड हुन सक्छ।
युट्युब र नियामक निकायको प्रतिक्रिया
गुगलले एक विज्ञप्ति जारी गर्दै हानिकारक सामग्री रोक्न आफू प्रतिबद्ध रहेको र रिपोर्टमा उल्लेख गरिएका भिडियोहरू हटाइसकेको जनाएको छ।
तर, सञ्चार नियामक निकाय ‘ओफकम’ले युट्युब र टिकटकले युवाहरूलाई सुरक्षित राख्न अझै पर्याप्त काम नगरेको बताएको छ।
खानपानसम्बन्धी समस्या भएकाहरूलाई सहयोग गर्ने संस्था ‘बिट’का अनुसार ९० प्रतिशत प्रयोगकर्ताले इन्टरनेटमा कुनै न कुनै रूपमा हानिकारक सामग्री भेट्ने गरेका छन्।
सरकारले सन् २०२७ को वसन्तसम्ममा १६ वर्षमुनिका बालबालिकालाई प्रमुख सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाउने योजना समेत बनाइरहेको छ।
असार ३०, २०८३ मंगलबार १३:४४:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।