नागरिकको जीवनभन्दा ठूलो कुनै नियम वा सत्ता हुन सक्दैन : सांसद ज्ञानेन्द्र शाही
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व हुनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नागरिकको जीवनभन्दा ठूलो कुनै नियम, कानुन, सत्ता वा पद हुन नसक्ने भन्दै सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाए।
सांसद शाहीले विगतमा ‘सिंहदरबारभन्दा मान्छेको जीवन ठूलो’ भन्नेहरू नै अहिले सत्तामा पुगेपछि ‘मान्छेको जीवनभन्दा नियम ठूलो’ भन्दै हिँडेको आरोप लगाए। उनले भौतिक रूपमा मात्र नभई परिस्थिति सिर्जना गरेर नागरिकलाई मृत्युको मुखमा धकेल्नु पनि जघन्य अपराध भएको तर्क गरे।
‘मान्छेको हत्या केवल गोली हानेर मात्र हुँदैन। कुनै नागरिकको बाँच्ने आधार खोसेर, रोजीरोटी बन्द गरेर, निराशा र पीडाको अवस्थामा पुर्याउनु कि ऊ आत्महत्या गर्न बाध्य होस्, त्यो पनि गोली हानेसरहको अपराध हो,’ उनले भने।
"मान्छेको हत्या केवल गोली हानेर मात्र हुँदैन। कुनै नागरिकको बाँच्ने आधार खोसेर, रोजीरोटी बन्द गरेर, निराशा र पीडाको यस्तो अवस्थामा पुर्याउनु कि ऊ आत्महत्या गर्न बाध्य होस्, त्यो पनि गोली हानेसरहकै अपराध हो," उनले भने।
उनले सडकमा जथाभावी पार्किङ गर्न पाउनुपर्ने माग आफूहरूले नगरेको स्पष्ट पार्दै भ्रामक प्रचार बन्द गर्न आग्रह गरे। ट्राफिक नियम उल्लंघनमा सर्वसाधारणलाई कारबाही हुने तर सिटबेल्ट नलगाई सवारी चलाउने उच्च पदस्थ व्यक्तिहरूमाथि कारबाही किन नहुने भन्दै उनले प्रश्न गरे।
सांसद शाहीले जलनबाट पीडित गणेश नेपालीलाई अस्पताल लैजाने क्रममा अपनाइएको प्रक्रियामाथि प्रश्न उठाए । उनले गम्भीर जलन भएका बिरामीलाई एम्बुलेन्समार्फत उपचारस्थल पुर्याउनुपर्नेमा अपराधी जस्तो हिँडाएर लगिएको भन्दै आपत्ति जनाए।
उनले समयमै उचित उपचार उपलब्ध गराइएको थियो वा थिएन, भारतमा उपचारका लागि लैजान सकिने अवस्था थियो वा थिएन भन्ने विषयमा राज्यले जवाफ दिनुपर्ने बताए। मृत्यु भइसकेको अवस्थामा विमानस्थलमा गरिएको गतिविधिबारे पनि छानबिन हुनुपर्ने उनको माग थियो।
असार ३०, २०८३ मंगलबार १२:०३:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।