प्रधानमन्त्रीको मौनतामाथि आरेन राईको टिप्पणी– बरु ढुङ्गो बोल्ला, मान्छे बोल्दैन
काठमाडौं : श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा आएर आफ्नो सीमा सम्बन्धी गलत अभिव्यक्ति सच्चाउनुपर्ने बताएका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद राईले डेढ महिनादेखि विपक्षीले उक्त अभिव्यक्ति सच्चाउन माग गरे पनि प्रधानमन्त्री नबोलेको भन्दै असन्तुष्टि व्यक्त गरे।
सांसद राईले भने, "दुई महिना हाराहारी हुन लाग्यो, एक महिना क्रस भयो, प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति करेक्सन गर्नुपर्छ र यो रोस्टममा बोल्नुभएको रेकर्डबाट हटाउनुपर्छ भनेको। यत्रो लामो समय भइसक्यो बरु ढुंगा बोल्छ, मान्छे बोल्दैन भन्थे, त्यस्तै भयो अहिले।"
उनले प्रधानमन्त्रीले विगतमा काठमाडौं महानगरपालिकाको मेयर हुँदा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई स्मरण गर्दै वर्तमान अवस्थामा त्यसले आफूलाई चिन्तित बनाएको बताए। प्रधानमन्त्रीले विगतमा ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै उनले देशका महत्वपूर्ण संरचना र सार्वभौम निकायको सुरक्षाबारे प्रश्न उठाए।
विगतको प्रसङ्ग जोड्दै उनले थपे, "वर्तमान प्रधानमन्त्री काठमाडौं महानगरको मेयर हुँदा एउटा समस्या पर्दा फेसबुकमा सिंहदरबार जलाइदिन्छु भन्नुभयो, पछि सिंहदरबार जल्यो। अब सीमाका बारेमा दिएको अभिव्यक्तिले पनि त्यस्तै रूप लिने त होइन?"
यद्यपि, प्रधानमन्त्रीको यो अभिव्यक्ति नियतवश भने नआएको हुन सक्ने उनको भनाइ थियो। उनले उक्त विवादित भनाइ तत्काल संसद्को रेकर्डबाट हटाउन र संसद्को मागलाई सम्बोधन गर्न सरकारसँग माग गरे।
राईले वर्तमान सरकारले गरिब, निमुखा, श्रमिक र साना उद्यमीको हितमा काम नगरेको आरोप पनि लगाए। उनले पठाओ राइडर, सुकुम्बासी तथा श्रमिक नागरिकमाथि सरकार कठोर बनेको दाबी गर्दै यस्तो कार्य रोक्न आग्रह गरे।
उनले लामो समयदेखि राज्यका विभिन्न निकायमा करार तथा श्रेणीविहीन कर्मचारीका रूपमा काम गरिरहेका हजारौँ कर्मचारीको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए।
सांसद राईले सर्वोच्च अदालतको आदेशअनुसार करार तथा अस्थायी कर्मचारीलाई महँगी भत्ता, सामाजिक सुरक्षा कोषलगायतका सुविधा उपलब्ध गराउन सरकारसँग माग गरे।
उनले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने बेला सरकारले कम्पनी खडा गरेर नीतिगत भ्रष्टाचार गर्न खोजेको आरोपसमेत लगाए।
असार ३०, २०८३ मंगलबार ११:५२:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।