‘गेट थुनेर जनआवाज रोकिँदैन, ऐना फुटाएर अनुहार सुन्दर देखिँदैन’
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सञ्चारगृह र विपक्षी दलका नेताको निवासमा गरिएको ‘पार्किङ घेराबन्दी’ लाई सरकारको लाचारी र अधिनायकवादी चरित्रको संज्ञा दिएका छन्।
सोमबार बिहानैदेखि कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजन र कांग्रेस महामन्त्री गगन थापाको घर अगाडि शंकास्पद रूपमा गाडी पार्क गरिएका घटनालाई लिएर उनले सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन्।
आङ्देम्बेले भने, ‘लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता हो। तर, जब सरकार आलोचनाबाट डराउन थाल्छ, तब उसले प्रश्नकर्ताहरूलाई नै निशाना बनाउन खोज्छ।’
मिडिया हाउस र विपक्षी नेताको गेट थुन्ने कार्यलाई आङ्देम्बेले ‘मनोवैज्ञानिक दबाब’को संज्ञा दिएका छन्।
‘यो घटना केवल बाटो छेक्ने मात्र होइन, आलोचनात्मक आवाज थुन्ने र प्रश्न गर्नेहरूलाई परिणाम भोग्नुपर्छ भन्दै तर्साउने प्रयास हो’, उनले उल्लेख गरेका छन्।
सहकारी पीडित, मिटरब्याज पीडित र सुकुम्बासीहरू सडकमा रोइरहेको सन्दर्भ जोड्दै नेता आङ्देम्बेले राज्यको दमनका कारण मुगुका गणेश नेपाली र सर्लाहीका विवेक मण्डलले गरेको आत्मदाहको घटनाले देशको कारुणिक अवस्था चित्रण गरेको बताए।
‘बेरोजगारी र सुशासनका प्रश्नमा जवाफ दिन नसकेको सरकारले प्रश्न गर्नेहरूको मुख थुन्ने शैली अपनाएको छ,’ उनको आरोप छ, ‘यो लोकतन्त्रको बाटोबाट सत्तामा पुगेका प्रधानमन्त्रीले मानसपटलमा उत्तर कोरिया बोकेर हिँड्दाको पराकाष्ठा हो।’
सरकारलाई चेतावनी दिँदै आङ्देम्बेले सञ्चारमाध्यम र प्रतिपक्षलाई शत्रु नठान्न आग्रह गरेका छन्। सञ्चारमाध्यमले राज्यको कामकारबाही जस्ताको तस्तै देखाउने ऐनाको काम गर्ने उल्लेख गर्दै उनले भनेका छन्, ‘ऐना फुटाएर अनुहार सुन्दर देखिँदैन।’
इतिहासले प्रश्नको बाटो कहिल्यै बन्द नहुने पुष्टि गरिसकेको भन्दै उहाँले गेट छेकेर स्वतन्त्र आवाज रोक्न सकिन्छ भन्ने भ्रममा नरहन सरकारलाई सचेत गराएका छन्।
असार ३०, २०८३ मंगलबार ०९:२४:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।