कालीगण्डकीको बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबायो, पूजापाठ र दर्शन ठप्प
पर्वत : दुई दिनदेखिको अविरल वर्षाले कालीगण्डकी नदीमा आएको बाढीले पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थल सेतीवेणीमा अवस्थित विश्वकै सबैभन्दा ठूलो शालिग्राम शिला डुबाएको छ।
शिला डुबानमा परेसँगै त्यहाँ हुँदै आएको नियमित पूजाअर्चना र दर्शन पूर्ण रूपमा बन्द भएको छ।
कालीगण्डकी र सेतीखोलाको जलसतह ह्वात्तै बढेपछि शिलासम्म पुग्ने बाटो, परिक्रमास्थल र नजिकै रहेको सत्तलसमेत पानीमा डुबेका छन्।
शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबियन जालीसमेत बाढीले पुरिएकाले उक्त क्षेत्रमा प्रवेश निषेध गरिएको छ।
शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीका अनुसार बाढीले पुजारी र पण्डितहरू विस्थापित भएका छन् भने शिला परिक्रमास्थल पूर्णरूपमा क्षतविक्षत बनेको छ।
शालिग्राम क्षेत्र मात्र नभई सेतीवेणी बजार पनि डुबानको उच्च जोखिममा परेको छ।
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण पानीको बहाव थुनिँदा पर्वत र स्याङ्जातर्फका करिब दुई सय घरधुरी तथा व्यवसायी त्रसित बनेका छन्।
स्थानीयका अनुसार दुई वर्षअघि आएको बाढी बजारमा पस्दा एक घर भत्किएको थियो भने आधा दर्जन घर विस्थापित भएका थिए।
स्थानीय जनप्रतिनिधिहरूले नदीको बहाव परिवर्तन गरेर शिला र बजार दुवैको दीर्घकालीन संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
गल्याङ नगरपालिका-५ का वडाध्यक्ष घनश्याम भट्टराईले गुल्मीतर्फबाट नदीको बहाव फर्काउन सके जोखिम कम हुने बताए।
विहादी गाउँपालिकाका अध्यक्ष परबीन गुरुङले स्याङ्जा, पर्वत र गुल्मीका सम्बन्धित पालिकाहरूले समन्वय गरेर सेतीवेणी क्षेत्रको संरक्षणमा जुट्नुपर्ने आवश्यकता औंल्याए।
यसैबीच, जिल्ला प्रहरी कार्यालय पर्वतले नदीतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रहरी निरीक्षक राजन पटेलले बाढीपहिरोको जोखिम जुनसुकै बेला आउन सक्ने भएकाले सुरक्षित रहन सबैमा अपिल गरे।
असार ३०, २०८३ मंगलबार ०८:०२:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।