जलविरेमा पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक खण्ड पूर्ण रूपमा बन्द

जलविरेमा पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक खण्ड पूर्ण रूपमा बन्द

चितवन : अविरल वर्षा र पहिरोका कारण मुग्लिन-नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यस सडक खण्डमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ।

सोमबार साँझदेखि नै विभिन्न स्थानमा पहिरो र लेदो खसेका कारण सडक दुईतर्फी अवरुद्ध बनेको थियो। सडक अवरुद्ध हुँदा बीच बाटोमै अलपत्र परेका यात्रु र सवारी साधनहरूलाई हिजो अबेरसम्म पहिरो पन्छाएर गन्तव्यतर्फ पठाइएको थियो।

तर, वर्षा नरोकिएको र थप पहिरो झर्ने जोखिम कायमै रहेकाले विपद् व्यवस्थापन समितिको आपत्कालीन बैठकले सुरक्षाका लागि सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

सडक डिभिजन भरतपुरका अनुसार अहिले यस सडक खण्डको जलविरे नजिकै पुनः पहिरो खसेको छ।

अन्य विभिन्न स्थानमा झरेको पहिरो र लेदो सफा गर्नका लागि सम्बन्धित ठाउँहरूमा मेसिन परिचालन भइसकेको छ। सडक खुलाउने प्रयास भइरहे पनि वर्षा निरन्तर भइरहेकाले काममा चुनौती थपिएको छ।

प्रशासनले यस सडक खण्ड हुँदै यात्रा गर्ने तयारीमा रहेका सर्वसाधारणलाई सडकको अवस्था बुझेर मात्र घरबाट निस्कन र सुरक्षाकर्मीको निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ ।

असार ३०, २०८३ मंगलबार ०७:३९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।