सुर्खेतबाट समातिएका एमाले उपाध्यक्ष पौडेलमाथिको अनुसन्धान सकिएन, पाँचौं पटक म्याद थप

सुर्खेतबाट समातिएका एमाले उपाध्यक्ष पौडेलमाथिको अनुसन्धान सकिएन, पाँचौं पटक म्याद थप

काठमाडौं : सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धानका लागि हिरासतमा रहेका एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार पौडेलमाथि अनुसन्धानका लागि पाँचौं पटक म्याद थप गरेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान कार्य नसकिएको भन्दै म्याद थपका लागि अदालतसमक्ष अनुमति मागेको थियो।

गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विभागले उनीमाथि अनुसन्धान गरिरहेको छ। पौडेललाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। यसैबीच, पौडेलकी पत्नीले उनको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदन खारेज भएको छ।

अदालतको पछिल्लो आदेशसँगै अब विभागले थप तीन दिन हिरासतमा राखेर उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाउनेछ।

असार २९, २०८३ सोमबार १८:१८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।