ज्यान सम्बन्धी कसुरमा गणेशका दाइको जाहेरी, पशुपतीमा दाहसंस्कार गरिने

ज्यान सम्बन्धी कसुरमा गणेशका दाइको जाहेरी, पशुपतीमा दाहसंस्कार गरिने

काठमाडौं : गणेश नेपालीका दाइ मदनले प्रहरीमा भवितव्य ज्यानमा जाहेरी दिएका छन्। उनले प्रहरी वृत्त कालीमाटीमा आफ्नो भाइले पेट्रोल झर्किएर आगो लगाउँदा घाइते भएको र उपचारकोक्रममा मृत्यु भएको भन्दै ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएका हुन्।

उनले जाहेरीमा घटना सम्बन्धमा छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषी उपर कानून बमोजिम कडा कारबाहीको माग गर्दै मृतकका आश्रित परिवारले पाउन पर्ने उचित क्षतिपूर्ति/राहत नेपाल सरकार र सम्बन्धित निकायबाट दिलाउन समेत माग गरेका छन्।

उनले भाइको शव कानून बमोजिम दाहसंस्कारका लागि आफ्नो जिम्मामा दिन माग गरे अनुसार प्रहरीले शव बुझाइसकेको छ। गणेशको आजै पशुपति आर्यघाटमा दाह संस्कार हुँदैछ। आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग पीडित परिवारका सदस्यहरूको सहमति भएको थियो।

सहमतिमा शव बुझ्ने, छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा समिति गठन गर्ने, मृतकको श्रीमतीलाई काठमाडौं महानगरपालिकाले क्षमता अनुसार रोजगार दिने र छोरीको उच्च शिक्षासम्मको खर्च बेहोर्ने उल्लेख थियो।

असार २९, २०८३ सोमबार १७:३१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।