सञ्चारमाध्यमको कार्यालयको गेटमा भएको सवारी नाकाबन्दीको रास्वपाको विरोध, आफ्नैको नेताको गाडीबारे भने मौन
काठमाडौं : सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार बिहानबाट विभिन्न सञ्चार माध्यमको कार्यालय नै छिर्न नमिल्ने गरेर गाडी राखेर अवरोध पूर्याएको घटनाको विरोध गरेको छ। पार्टी महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको र यस सम्बन्धमा आमसञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
तीन गाडीमध्ये कान्तिपुर मिडियाको कार्यालयको गेटमा छाडिएको कालो रंगको बा प्र ०१-०३४ च ८४८० नम्बरको ‘जेको जेसिक्स’ गाडी रास्वपा नेता रवि जयसवालको रहेको खुल्यो। जैसवाल रास्वपा केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य हुन्। यसबारे भने विज्ञप्ति मौन छ।
विज्ञप्तिमा राज्यको चौथो अंगका रूपमा स्थापित आम सञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताका ठाडो उल्लंघन रहेको उल्लेख छ।
“एक लोकतान्त्रिक, जिम्मेवार र विधिको शासनमा विश्वास गर्ने राजनीतिक दलको हैसियतले रास्वपा सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको छ” विज्ञप्तिमा उल्लेख छ।
कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई सङ्कुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू पार्टीलाई किमार्थ स्वीकार्य नभएको विज्ञप्तिमा उल्लेख छ।
स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राण वायु रहेको र यसको रक्षार्थ पार्टी सदैव कटिबद्ध रहेको भन्दै प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुन कुनै कदमहरूको पार्टी भर्त्सना गर्ने उल्लेख छ।
“यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुनबमोजिम गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौ” विज्ञप्तिमा उल्लेख छ।
सम्बन्धित समाचार
असार २९, २०८३ सोमबार १७:१२:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।