प्रमुख प्रतिपक्षी दलका नेता आङ्देम्बेको स्वीकारोक्ति : ‘सदन बलियो बनाउन कहीँ न कहीँ घरकै सदस्य कमजोर परे’
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको हितलाई केन्द्रमा राखेर प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका रूपमा रचनात्मक र सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन्।
पार्टी संसदीय दलको कार्यालयमा सोमबार संसदीय मामिला हेर्ने पत्रकारहरूसँगको छलफलमा उनले सत्तापक्षलाई संसद् र जनताप्रति उत्तरदायी बनाउन कांग्रेसले सकारात्मक भूमिका खेल्ने बताए।
उनले संसदीय समितिलाई अनिर्णयको बन्दी बन्न नदिन सबै प्रतिपक्षी दलहरूलाई समेटेर अघि बढ्ने नीति पार्टीले लिएको जानकारी दिए। “संसद्मा प्रश्न राख्ने, प्रस्ताव दर्ता गराउने र समितिको गाम्भीर्यतालाई मनन गरी काम गर्छौं। सत्तापक्षलाई सदन र जनताप्रति उत्तरदायी बनाउनतर्फ सकारात्मक भूमिकामा रहन्छौं,” उनले भने।
घरबाट बलियो आवाजले मात्र संसद्लाई मजबुत बनाउन सकिने भए पनि पार्टी सदस्य कमजोर हुँदा सदनमा आवाज थप बलियो हुन नसकेको नेता आङ्देम्बेको स्वीकारोक्ति थियो। उनले भने, “घरबाट बलियो आवाज आयो भने सदन पनि बलियो हुन्छ। कहीँ न कहीँ घरकै सदस्य कमजोर परिरहेका छन्। घरको सदस्यको ऊर्जा र विवेक घरबाटै आउने हो।”
कांग्रेसले प्रतिपक्षको भूमिकामा निर्वाह गरेको जिम्मेवारी निराशाजनक नभए पनि त्यसमा थप प्रभावकारिता बनाउने आवश्यकता उनले औँल्याए। संसदीय समितिहरू छलफल र निर्णयका महत्त्वपूर्ण थलो भए पनि कतिपय अवस्थामा समितिहरू प्रभावहीन बन्ने अवस्था देखिएको उनको दाबी छ। संसदीय अभ्यासलाई कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने उनले चेतावनी दिए।
विगतका राजनीतिक अभ्यासको समीक्षा इतिहासले गर्ने भन्दै आङ्देम्बेले वर्तमान अवस्थामा पार्टीभन्दा माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने धारणा राखे। उनले भने, “विगतका अभ्यासको समीक्षा इतिहासले गर्नेछ, तर अहिलेको आवश्यकता राष्ट्रिय हितमा केन्द्रित भएर अघि बढ्नु हो। सभामुखले पनि पार्टीभन्दा माथि उठेर निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ। सभामुख पार्टीको हुनुहुन्न, उहाँले आफ्नो भूमिकालाई बुझेर काम गर्नुपर्छ।”
पार्टीका पदाधिकारीहरूले सञ्चारमाध्यमलाई समय दिएर संस्थागत धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले व्यक्तिगत अभिव्यक्तिभन्दा दलको आधिकारिक धारणा प्रमुख सचेतक, सचेतक र नेतृत्वमार्फत आउनुपर्ने जानकारी दिए।
असार २९, २०८३ सोमबार १६:५३:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।