मिडिया हाउस घेर्ने तीनमध्ये एउटा गाडी मात्रै व्यक्तिको नाममा
काठमाडौं : सोमबार बिहानै काठमाडौंका सञ्चारगृहहरू लक्षित गरी गरिएको ‘पार्किङ घेराबन्दी’ मा प्रयोग भएका सवारी साधनहरूको स्वामित्वको नालिबेली खुलेको छ।
सोमबार बिहान साढे ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर, नयाँ बानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरको हिमालय टेलिभिजनमा निजी नम्बर प्लेटका गाडीले आवतजावत ठप्प पारेका थिए।
हिमालय टेलिभिजनको गेटमा पार्किङ गरिएको बा १० च १२५५ नम्बरको कोसुन्डा गाडी २०७६ जेठ १६ गतेसम्म राजीब काजी श्रेष्ठको नाममा रहेको र त्यसपछि डीआर अटोमोटिभ्सलाई बेचेको पाइएको छ।
त्यसैगरी, कान्तिपुरको गेटमा अवरोध सिर्जना गर्ने बा प्र ०१-०३४ च ८४८० नम्बरको महँगो ‘जेको जेसिक्स’ गाडी पायोनियर मोटोकर्प प्रालिले एसटी मोटर्सका लागि सानिमा विकास बैंकमार्फत ऋणमा निकालेको खुलेको छ।
उक्त गाडी २०८३ असार २४ गते खरिद भएको यातायात व्यवस्था विभागको ढड्डामा छ।
यस्तै, अनलाइनखबरको गेट थुन्ने बा १२ च ८५४५ नम्बरको ह्युन्डाई ग्रान्ड आई१० गाडी भने श्रेयण शाहीको नामबाट २०८३ असार १२ गते सुनिल पौडेलको नाममा नामसारी भएको देखिन्छ।
नेपाल पत्रकार महासंघले यस घटनालाई प्रेस स्वतन्त्रतामाथिको ‘रहस्यमय’ र ‘निन्दनीय’ हमला भन्दै घोर भर्त्सना गरेको छ।
महासंघले तत्काल दोषी पत्ता लगाई कारबाही गर्न माग गरे पनि निजी नम्बर प्लेटका गाडीधनीहरू र यसको पछाडि रहेका शक्ति केन्द्रहरूबारे प्रहरीले अझै औपचारिक मुख खोलेको छैन।
असार २९, २०८३ सोमबार १४:५७:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।