मिडिया हाउसको गेटअगाडि गाडी पार्किङ गरिएकोमा पत्रकार महासंघको आपत्ति, छानबिनको माग

मिडिया हाउसको गेटअगाडि गाडी पार्किङ गरिएकोमा पत्रकार महासंघको आपत्ति, छानबिनको माग

काठमाडौं : काठमाडौंका विभिन्न सञ्चारमाध्यमहरूको कार्यालय प्रवेशद्वारमै शंकास्पद रूपमा सवारी साधन पार्किङ गरी सञ्चारकर्ममा अवरोध पुर्याइएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले यसलाई ‘निन्दनीय र रहस्यमय’ घटना भन्दै तत्काल छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।

सोमबार बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँ बानेश्वरको अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको मूल गेटमै निजी सवारी साधन तेर्स्याएर पत्रकारहरूलाई आवतजावतमा बाधा पुर्याइएको थियो ।

सञ्चारगृहको गेटमा अवरोध खडा गरेर पत्रकारहरूलाई कार्यक्षेत्रमा जान रोक्नु र सञ्चारकर्ममा आतंक सिर्जना गर्नु प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको महासंघको ठहर छ।

महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुर्याउने यो निन्दनीय र रहस्यमय घटनाको तत्काल छानबिन गर्न र दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ।’

महासंघले सञ्चारगृहको गेटमा गरिएको अवरोध तत्काल हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सरकार र सम्बद्ध निकायसँग जोडदार माग गरेको छ।

निर्बाध रूपमा समाचार संकलन गर्न पाउने पत्रकारको संवैधानिक अधिकारमाथि कुनै पनि बहानामा हुने हस्तक्षेप अस्वीकार्य हुने महासंघको चेतावनी छ।

असार २९, २०८३ सोमबार १३:१०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।