बाह्रखरीपछि कान्तिपुर, अनलाइनखबर र हिमालय टिभीको गेट अगाडि शंकास्पद गाडी पार्किङ
काठमाडौं : काठमाडौंका मिडिया हाउसहरूलाई लक्षित गरी सोमबार बिहानैदेखि शंकास्पद रूपमा सवारी साधन पार्किङ गरेर आवतजावतमा अवरोध पुर्याइएको छ।
कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनको मुख्य प्रवेशद्वारमै निजी सवारी साधन तेर्स्याएर पत्रकार र सञ्चारगृहका सवारीलाई बन्धक बनाइएको हो।
सोमबार बिहान साढे ७ बजे आसपास तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँ बानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरमा रहेको हिमालय टेलिभिजनको गेटमा पनि निजी नम्बर प्लेटको गाडी पार्किङ गरेर अवरोध सिर्जना गरिएको छ।
कान्तिपुरको प्रवेशद्वारमै गाडी तेर्स्याइएका कारण टेलिभिजनका ओबी भ्यान र रिपोर्टिङमा निस्कने सवारी साधनहरू कार्यालय भित्रै थुनिएका छन्।
रिपोर्टिङका लागि कार्यक्षेत्रमा जानुपर्ने पत्रकारहरू समयमै निस्कन नपाउँदा समाचार संकलनमा प्रत्यक्ष बाधा पुगेको छ। अनलाइनखबर र हिमालय टेलिभिजनमा पनि आधाभन्दा बढी गेट ढाक्ने गरी गाडी राखिएका छन्।
यी सबै गाडीहरू निजी नम्बर प्लेटका छन् र चालकहरू गाडी छाडेर सम्पर्कविहीन छन् । यो कुनै सामान्य पार्किङ नभई नियोजित रूपमा मिडियाको काम कारबाही ठप्प पार्ने उद्देश्यले गरिएको आशंका गरिएको छ।
मिडिया हाउसहरूले बिहानै गेट अगाडिको अवरोध हटाउन ट्राफिक प्रहरीलाई खबर गरेपछि प्रहरीहरू अहिले सम्बन्धित मिडिया हाउसमा पुगेका छन्।
अहिले प्रहरीले कान्तिपुर र अनलाइनखबरको गेटमा रहेका गाडीमा ‘ह्विल लक’ (ह्वील लक) लगाएको छ।
कान्तिपुर र हिमालय टिभी अगाडि राखिएको गाडी कसको हो भन्ने पत्ता नलगाे पनि अनलाइनखबर अगाडि रहेको गाडी भने सुनिल पौडेलको नाममा रहेको यातायात व्यवस्था विभागको रेकर्डमा देखिएको छ।
यसअघि दुई हप्ता अघि बाह्रखरी डटकमको कार्यालय अगाडि पनि आवतजावत नै असहज हुने गरी सवारी पार्किङ गरिएको थियो। त्यसबारेमा ट्राफिक प्रहरीलाई खबर गरिएकोमा ट्राफिक प्रहरीले ह्वील लक लगाएको थियो।
तर १५ घण्टासम्म पनि सवारी धनी ट्राफिक प्रहरीको सम्पर्कमा नआएपछि सवारीलाई ट्राफिफ प्रहरीले नियन्त्रणमा लिएर गएको थियो।
यस विषयमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले भने यसबारेमा अहिले नै थाहा नभएको बताए।
तर जिल्ला प्रहरी परिसर काठमाडौंको टोली भने पुगेर अनुसन्धान गरिरहेको छ।
असार २९, २०८३ सोमबार १२:१५:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।