प्रहरी कुटपिटबाट घाइते अन्सारीले अस्पतालबाटै भने- ‘मेरो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरियोस्’

प्रहरी कुटपिटबाट घाइते अन्सारीले अस्पतालबाटै भने- ‘मेरो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरियोस्’

काठमाडौं : कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुमबासीहरूको अवस्था बुझ्न जाने क्रममा प्रहरीको कुटपिटबाट घाइते भएका जेनजी अगुवा माजिद अन्सारीले अस्पतालको शय्याबाटै सरकार र प्रशासनसँग जवाफ मागेका छन्।

शनिबार साँझ ५ बजेतिर १०/१२ जनाको सङ्ख्यामा रहेका प्रहरीले आफूलाई लछारपछार गर्दै सांघातिक आक्रमण गरेको दाबी गर्दै अन्सारीले हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराइरहेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पक्राउ र कुटपिटको कानुनी आधारमाथि प्रश्न उठाएका हुन्।

अन्सारीले आफूलाई कुन आधारमा पक्राउ गरिएको हो र किन कुटपिट गरिएको हो भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी नदिइएको बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘मलाई अहिलेसम्म मेरो पक्राउको कारण बारेमा कुनै जानकारी दिइएको छैन, न त मलाई कुनै पक्राउ पुर्जी देखाइएको छ। मेरो पक्राउको कानुनी हैसियत बारेमा पनि कुनै स्पष्टता छैन।’

सुकुमबासीहरूका पक्षमा आवाज उठाउँदै आएका अन्सारीले यो कारबाहीलाई नियोजित र लक्षित भन्दै गृहमन्त्री र प्रहरी प्रमुखको ध्यानाकर्षण गराएका छन्।

उनले प्रश्न गरेका छन्, ‘के गृहमन्त्री वा प्रहरी प्रमुख ज्यूले यो कुरा स्पष्ट पार्न सक्नुहुन्छ कि यी सबै गैरकानुनी कारबाहीहरू किन यति लक्षित तरिकाले म विरुद्ध गरियो?’

आफ्नो जीवन र स्वतन्त्रतामाथि गम्भीर खतरा रहेको महसुस गर्दै अन्सारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्थालाई गुहार मागेका छन्।

उनले संघीय संसदका सदस्यहरू, प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज र अन्तर्राष्ट्रिय मानव अधिकार समुदायलाई आफ्नो सुरक्षा सुनिश्चित गर्न अनुरोध गरेका हुन्।

कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरूको मानव अधिकारको अवस्था र उनीहरूले भोगिरहेका समस्याबारे बुझ्न पुगेका बेला प्रहरी र अन्सारीबीच विवाद भएको थियो। सोही क्रममा प्रहरीले बल प्रयोग गर्दा उनी घाइते भएका हुन्।

प्रहरीले भने यसबारे अहिलेसम्म कुनै औपचारिक स्पष्टीकरण दिएको छैन।

असार २९, २०८३ सोमबार ११:११:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।