दाङका पुरोहितलाई ‘शास्त्रीय’ बन्ने अवसर, पुस्तौँको अनुभवमा जोडिँदै औपचारिक शिक्षा

दाङका पुरोहितलाई ‘शास्त्रीय’ बन्ने अवसर, पुस्तौँको अनुभवमा जोडिँदै औपचारिक शिक्षा

तुलसीपुर : दाङमा पुस्तौँदेखि परम्परागत रूपमा कर्मकाण्ड गर्दै आएका पुरोहितहरूका लागि पहिलोपटक औपचारिक शास्त्रीय ज्ञान लिने ढोका खुलेको छ।

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको जनता विद्यापीठ विजौरीले सञ्चालन गरेको ६ महिने माध्यमिक तहको ‘कर्मकाण्ड तालिम’ ले वर्षौंदेखि पूजापाठ गराउँदै आएका पुरोहितहरूलाई उत्साही बनाएको हो।

लामो समयदेखि कर्मकाण्डमा संलग्न तुलसीपुर-२ टरिगाउँका यमराज उपाध्यायसँग अनुभवको कमी छैन, तर उनलाई सधैँ शास्त्रीय गहिराइ र शुद्ध उच्चारणको अभाव खड्किरहन्थ्यो।

‘सामान्य ज्ञानका भरमा पुरोहितको काम गरिरहेको थिएँ, तर अहिले तालिममा सहभागी भएपछि आफ्ना धेरै कमजोरी थाहा पाएँ,’ उपाध्याय भन्छन्, ‘गुरुहरूबाट सिक्दा अहिले शुद्ध उच्चारण र विधिविधानको गहिरो ज्ञान भइरहेको छ।’

त्यस्तै, ६० वर्षीय गणेश आचार्यको कथा पनि उस्तै छ। २२ वर्षको उमेरदेखि बाजे-बुबाले गरेको देखेर कर्मकाण्ड सिकेका आचार्य अहिले पनि समाजमा धार्मिक संस्कार सम्पन्न गराउन सक्रिय छन्।

‘हामीले औपचारिक रूपमा कहिल्यै पढेनौँ, परम्परा हेरेरै यो पेशामा लाग्यौँ,’ उनी भन्छन्, ‘तर अहिलेको तालिमले परम्परागत ज्ञानलाई वैज्ञानिक र शास्त्रीय बनाउन मद्दत गरेको छ।’

यमराज र गणेश प्रतिनिधि पात्र मात्र हुन् । हाल दाङका थुप्रै पुरोहितहरू तालिममा सहभागी भई जन्म, विवाहदेखि मृत्यु संस्कारसम्मका धार्मिक विधिहरूको सैद्धान्तिक र व्यावहारिक ज्ञान लिइरहेका छन्।

जनता विद्यापीठका प्रशिक्षक बद्रीप्रसाद गौतमका अनुसार यो पाठ्यक्रम विशेषगरी फिल्डमा खटिएका पुरोहितहरूको दक्षता वृद्धि गर्न तयार पारिएको हो।

‘उहाँहरूले समाजमा महत्वपूर्ण सेवा दिइरहनुभएको छ, तर त्यसलाई व्यवस्थित र शास्त्रीय बनाउनु आवश्यक थियो,’  गौतम भन्छन्, ‘६ महिनाको यो कोर्षपछि उहाँहरूको कार्यसम्पादन थप प्रभावकारी र शुद्ध हुनेछ।’

तालिम सफलतापूर्वक पूरा गर्ने सहभागीहरूले माध्यमिक तहको कर्मकाण्ड विषयको औपचारिक प्रमाणपत्र समेत प्राप्त गर्नेछन्।

यसले परम्परागत पेशालाई मर्यादित बनाउनुका साथै नयाँ पुस्तालाई समेत शास्त्रीय विधिप्रति आकर्षित गर्ने अपेक्षा गरिएको छ।

असार २९, २०८३ सोमबार ०७:२३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।